काठमाडौं, फागुन २६ । नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा ‘कोभिड–१९’ (कोरोना)भाइरस संक्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
दूतावासले सोमबार एक सूचना प्रकाशित गरी अत्यावश्यक अवस्थामाबाहेक भेटघाट नगर्न आग्रह गरेको हो ।
कतार सरकाले अपनाएको सतर्कता र संवदेनशीलतालाई मध्यनजर गर्दै भौतिक सम्पर्क नराख्न र टेलिफोन तथा इमेलमार्फत् सम्पर्क राख्न दूतावासले आग्रह गरेको छ ।
दूतावासबाट प्रवाह हुने सेवाका बारेमा जानकारी दिन परेमा नियोगमा उपस्थिति हुनु नपर्नेगरी व्यवस्था मिलाइएको छ ।
कोरोना संक्रमणका विषयमा सम्बन्धित निकायबाट थप जानकारी प्राप्त हुनासाथ सबैलाई सूचित गराइने दूतावासले जनाएको छ ।
कतारमा करिब चार लाखको संख्यामा नेपाली कार्यरत् रहेको सरकारको तथ्यांक छ ।
कतार सरकारको जनस्वास्थ्य मन्त्रालयलद्वारा प्रकाशित पछिल्लो तथ्यांकअनुसार तीन आप्रवासीसहित १५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ ।
कोरोनाभाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले कतारले नेपाललगायत विभिन्न १४ मुलुक वा ती मुलुक हुँदै कतार प्रवेश गर्ने व्यक्तिलाई सोमबार (आज)देखि अस्थायी रोक लगाएको छ ।
बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, उत्तर कोरिया, श्रीलंका र थाइल्यान्डका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाइएको कतारको सरकारी सञ्चार कार्यालयले जनाएको छ । रासस








प्रतिक्रिया दिनुहोस्