Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


आगामी असारभित्रै सेतीदोभान पुल सञ्चालन गर्नेगरी काम गर्न सिडियो पौडेलको निर्देशन


221
Shares

स्याङ्जा । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आँधीखोला गाउँपलिका वडा नम्बर ५ र ६ जोड्ने सेतीदोभान पुल चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सडक डिभिजन कार्यालय पोखराका डिइ पारसमणि हमाल, निर्माण कम्पनीका प्रतिनिधि ऋषिराम गौतमलगायत सरारकोरवालाहरूको उपस्थितिमा भएको छलफलपछि पौडेलले आगामी असार मसान्तभित्रै पुल निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।

छलफलमा रोकिएको निर्माण कार्यलाई तुरुन्त अगाडि बढाउने निर्णय भएको र सोही अनुसार निर्माण कम्पनीको तर्फबाट एक्साभेटर र रोलरसमेतका मेसिनहरू प्रयोग गरी आजैबाट कामको सुरुवात गरिएको छ । यस्तै, डिभिजन सडक कार्यालयले निर्माण व्यवस्थापनको जिम्मेवारी लिने निर्णय पनि भएको छ ।

विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माण नभएको भन्दै स्थानीयले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी पौडेलले पुल निर्माणको सन्दर्भमा चासो र सक्रियता देखाउनुभएको हो ।