
दीपक श्रेष्ठ/सुयेश मानन्धर (इमेज)
काठमाडौं, साउन २२ । केही दिनअघि कैलाली मा १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि हत्या गरिएको समाचार सेलाउन नपाउँदै कन्चनपुरमा १६ वर्षीया युवती बलात्कृत भएकी छन् ।
यता, गत आइतबार काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको पनि हत्या भएको छ ।
पछिल्लो समय बलात्कार र अपहरणका घटनामा वृद्धि भएको छ ।
यस्ता घटनाहरु घट्दै जानुपर्नेमा प्रत्येक वर्ष बढ्दै गएको प्रहरीको तथ्यांकले नै देखाउँछ ।
आर्थिक वर्ष २०७२/७३ मा देशभर ७९ ओटा अपहरणका मुद्दा दर्ता भएका थिए भने जबर्जस्ती करणी १ हजार ९३ र हत्याका घटना ६०० भएको प्रहरीको तथ्यांक छ ।
दर्ता भएका मुद्दामा प्रहरीले अनुसन्धान गरी ११७ जना अभियुक्तलाई पक्राउ गरी कारबाही गरेको छ भने ७६ ओटा मुद्दा फर्छ्योट भएका छन् ।
आर्थिक वर्ष २०७३/७४ मा ५७ ओटा मुद्दा दर्ता भएकामा ३८ ओटा मुद्दा फर्छ्योट भएका छन् ।
अपहरणमा संलग्न १११ जना अभियुक्त पक्राउ परेका थिए भने बलात्कारका ५३१ मुद्दा दर्ता भएका थिए ।
त्यस्तै, ६१६ हत्याको घटनासम्बन्धी मुद्दा दर्ता भएका थिए ।
गत आर्थिक वर्ष २०७४/७५ मा देशभर ७७ ओटा अपहरणका मुद्दा दर्ता भएका छन् । तीमध्ये प्रहरीले अनुसन्धान गरेर १०६ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।
१४ सय ८० बलात्कारका घटना भएका र ६२८ हत्याका घटना भएको प्रहरी तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्