७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


एक महिलाको चोरी धन्दा, घरघरमा पुगेर यसरी सुन र पैसा चोरी


0
Shares

चितवन, साउन २२ । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा ठूला धनराशीका नगद र गरगहन चोरी गर्दै आएकी एक महिला पक्राउ परेकी छन् ।

गएको वैशाखयता ६ ओटा घरमा चोरी गरेको अभियोगमा उनीसहित खरिद गर्ने दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नगद र गरगहना चोरी गरेको अभियोगमा मकवानपुर घर भइ नवलपुरको गैंडाकोटमा व्यवसाय गर्दै आएकी ३२ वर्षीया शोभा विकलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी, विकसँग सुन खरिद गरेका काठमाडौं, ओमबहालका सानुरत्न शाक्य र रश्मी ज्वेलर्स संगमचोक नारायणगढका लेखबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार ती महिलाले वैशाख १२ गतेदेखि हालसम्म ६ घरबाट नगद र गरगहना गरी रु २५ लाख ६ हजार बराबरको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

गत आर्थिक वर्षमा प्रहरीमा रु ३५ लाख एक हजार नगद, ४९ तोला सुन र १७ तोला चाँदी चोरी भएको भन्दै उजुरी परेको थियो ।

ढकालकाअनुसार दिनको समयमा ती महिलाले चोरी गर्ने गरेको खुलेको छ । चोरी गर्नुअघि उनले घरको निगरानी गर्ने गरेको प्रहरीले जनाएको छ ।

सकेसम्म घरभित्र नै पुग्ने र त्यहाँ प्रयोग भएका तालाको अवस्था बुझेर त्यहीअनुसारका फोर्ने औजार प्रयोग गर्ने गरेको पाइएको छ ।

उनले शरीरलाई घुम्टोले ढाकेर ढोका र दराजहरुमा सामान्य क्षति गरी सुन र नगदमात्र चोर्ने गरेको भेटिएको छ ।

ढकालकाअनुसार एक घरमा सीसी क्यामेरा देखेपछि ती महिलाले छाता ओडेर अनुहार नदेख्ने गरी चोरी गरेको खुलेको छ ।

प्रहरीले विगत लामो समयदेखि नै ती महिला चोरीमा संलग्न भएको अनुमान गरेको छ ।

पक्राउ परेकी महिलाले गैंडाकोट नगरपालिका वडा नम्बर–२ मा घर किनेर थकाली भान्छाघर सन्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

महिलाले आफूसँगै अर्को एक महिला रहेको बताएपनि हाल सम्पर्कविहीन भएको जनाएको प्रहरीको भनाइ छ ।

पछिल्लोपटक साउन ८ गते ती महिलाले भरतपुर महानगरपालिका वडा नम्बर–१०, लाहुरेचोकमा चोरी गरेपछि प्रहरीले नजिकैको रिजालचोकबाट उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस