नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)
काठमाडौं, फागुन ६ । महाशिवरात्रि पर्व नजिकिँदै गर्दा गाँजाको चर्चा चुलिने गरेको छ ।
शिव भगवानको प्रसादका रुपमा लिइने गाँजाको सेवन गैरकानुनी मानिँदै आएको छ । तर, नेपालमा गाँजाखेतीको बहस हुन थालेको छ ।
गाँजालाई लागुपदार्थको रुपमा लिँदै ४५ वर्षअगाडि प्रतिबन्ध लगाइएको हो । त्यही बेलादेखि आयुर्वेदिक औषधिमा गाँजा प्रयोग गर्न छोडियो ।
दुखाइ, श्वासप्रश्वास, दम, खोकी, पाचनप्रक्रियालगायतमा प्रयोग हुने आयुर्वेदिक औषधिमा गाँजा प्रयोग गर्दा प्रभावकारी हुने ठानिन्छ ।
गाँजालाई औषधिको रुपमा लिच्छविकालअघिदेखि नै प्रयोग गर्ने गरिन्थ्यो । यसलाई नेपालको आयुर्वेदमा मौलिकतासँग जोड्ने गरिएको स्मरण सिंहदरबार वैद्यखाना विकास समितिले गराएको छ ।
नेपालमा गाँजा प्रतिबन्ध गरिएयता गाँजा मिश्रित २० प्रकारका आयुर्वेदिक औषधि लोप भइसकेको समितिले जनाएको छ ।
ती औषधि अझै उत्पादन गर्न सकिने सूत्र र विधिसहितको ‘तर्किव किताब’ सुरक्षित रहेको समितिका प्रबन्ध निर्देशक डा. वंशदीप शर्मा बताउँछन् ।
गाँजा मिसाएर विगतमा उत्पादन गरिने औषधिहरुको ‘पेटेन्ट राइट’ लिन सके नेपालको अर्थतन्त्रमा समेत योगदान पुग्ने उनको तर्क छ ।
गाँजा प्रतिबन्ध फुकुवा भए लोप भएका आयुर्वेदिक औषधिहरु पुनः उत्पादन गर्न सकिने सुझाव समितिले सरकारलाई दिइसकेको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यले सन् २०१८ मा गाँजा प्रयोग र बिक्री खुलाएको थियो । अमेरिकाजस्तो विकासित देशले गाँजाको प्रतिबन्ध हटाएको स्थितिमा नेपालमा गाँजालाई आयुर्वेदिक औषधिमा मिसाउन दिनुपर्ने मतहरु बढिरहेको पाइन्छ ।









प्रतिक्रिया दिनुहोस्