२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


सुकीलाई थप ४ वर्षको जेल सजाय


221
Shares

एजेन्सी । म्यानमारको सैन्य अदालतले अपदस्त नेतृ आङ्गसान सुकीलाई थप ४ वर्षको जेल सजाय सुनाएको छ ।

सुकीलाई गैरकानुनी रूपमा विद्युतीय सामग्री राखेको र कोभिड–१९ को नियम उल्लंघन गरेको आरोप लागाइएको छ । यससँगै उनलाई करिब एक दर्जन आरोप लगाइएको छ । आफूमाथि लगाइएको सबै आरोपहरू निराधार रहेको सुकीले बताउँदै आएकी छन् ।

सेनाको उक्त कदम अन्यायपूर्ण रहेको भन्दै व्यापक रूपमा निन्दा गरिएको छ । राजधानी शहर नेपिताउमा सोमबार भएको मुद्दाको सुनुवाइमा सञ्चारमाध्यमलाई रोक लगाइएको छ भने सुकीका वकिललाई सञ्चारमाध्यम र जनतासँग कुराकानी गर्नबाट रोक लगाइएको छ ।

यदि सबै आरोपमा दोषी ठहरिए, सुकीलाई अन्ततः आजीवन जेल सजाय हुन सक्ने आंकलन गरिएको छ । यसअघि सुकीलाई पहिलो पटक डिसेम्बरमा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । गत वर्ष फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकार अपदस्त गर्दै सैन्य शासन कायम गरेको थियो ।

सैन्य ‘कू’पछि भएका विभिन्न हिंसात्मक प्रदर्शनमा हालसम्म १४ सय भन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै थुप्रै गाउँहरूमा सेनाले आक्रमण गरेर सर्वसाधारणको हत्या गरेको समाचारहरू बाहिर आएका छन् ।

म्यानमारमा मानवअधिकारको अत्याधिक उल्लंघन भएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाले व्यापक निन्दा गर्दै आएका छन् ।