Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


उतारचढावपूर्ण ७५ वर्ष


0
Shares

काठमाडौं । ‘भारतबाट अब छिट्टै ब्रिटिसहरूको औपनिवेशिक शासन समाप्त हुँदैछ। त्यसैको आडमा टिकेको नेपालको जहानियाँ शासनलाई समाप्त पार्न अब त्यति कठिन हुनेछैन।

तर त्यसको निमित्त हामी सबैले संगठित भएर अगाडि बढ्न सक्नुपर्छ। अब अगाडि बढ्ने समय आइसकेको छ। हामी सबै मिलेर एउटा संगठन तयार पारौं, पार्टीको निर्माण गरौं र त्यहीमार्फत अगाडि बढौं।’बिपी कोइरालाले २००३ असोज १८ मा गरेको सार्वजनिक आह्वानको एक अंश हो यो। यसलाई नै नेपाली कांग्रेस गठनको पहिलो प्रयासका रूपमा कांग्रेसजनले लिने गरेका छन्।

हुन त त्यसभन्दा अघि नै १९९७ मै राणा शासन अन्त्यका लागि टंकप्रसाद आचार्यको नेतृत्वमा नेपाल प्रजापरिषद् नामक राजनीतिक दल स्थापना भइसकेको थियो। त्यसका माध्यमबाट राणा शासनविरुद्ध नेपाली जनता संगठित हुन थालिसकेका थिए।

भारतमा सुरु भएको स्वतन्त्रता आन्दोलनको प्रभावका कारण नेपालमा पनि युवाले राणा शासनविरुद्ध आवाज उठाउन थालेका थिए। बिपीको अपिल आउँदासम्म बनारस हिन्दु विश्वविद्यालयमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीले ‘नेपाल छात्र संघ ९वाराणसी० स्थापना गरिसकेका थिए।

विश्वनाथप्रसाद मिश्र अध्यक्ष, कृष्णप्रसाद भट्टराई उपाध्यक्ष, काशीराज उपाध्याय,रत्नबहादुर पार्थिव, मणिराज भण्डारी, लीलानटेश्वर बराल,ईश्वरी बराल, विश्वबन्धु थापा, भरतमणि शर्मा, रोहिणीराज सत्यालसहितका विद्यार्थी त्यसमा सक्रिय थिए।

बिपीको आह्वानले उत्साहित बनेका कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्यालगायतका युवाले कात्तिक १५ गते काशीमा गोष्ठी गरे। जसको संयोजन नेपाल छात्र संघले गरेको थियो। त्यही गोष्ठीले मुलुकमा राणा शासन अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामक समिति गठन गर्‍यो। यो नै नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको मुख्य आधार हो।

नागरिक