सिन्धुली, माघ ११ । सिन्धुलीको घ्याङलेख गाउँपालिकाका एकजना इन्जिनियर पक्राउ परेका छन् ।
गाउँपालिकामा कार्यरत् इन्जिनियर दिलीपकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।
गाउँपालिकाको विद्युत् विस्तार गर्नेक्रममा उपभोक्तासँग पैसा मागेपछि साहलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।
शुक्रबार बेलुका सिन्धुलीमाढीमा साहले मागेको रकम लिनेक्रममा स्टलबजारनजिक बीपी राजमार्गबाट साहलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका मधुकुमार थापाले जानकारी दिए ।
साहले विद्युत् विस्तार गर्ने उपभोक्ता समितिसँग रु दुई लाख २६ हजार मागेकामा उपभोक्ता समितिबाट चेक र नगद लिँदै गर्दा पक्राउ परेका हुन् ।
उनको साथबाट कृषि विकास बैंकको रु ७० हजारको चेक, सिटिजन बंैकको रु एक लाख ६० हजारको चेक र स्रोत नख्ुलेको ३५ हजार रकमसहित पक्राउ गरिएको उनले जानकारी दिए ।
गाउँपालिकामा विद्युत् विस्तारका क्रममा लामो समयसम्म इन्जिनियर साहका कारण उपभोक्ताले पैसा पाउन नसकेपछि अख्तियारमा उजुरीका आधारमा इन्जिनियर पक्राउ परेका हुन् ।
घ्याङलेख गाउँपालिकामा दुई वर्षदेखि साह करारमा इन्जिनियरका रूपमा काम गर्दै आएका थिए । रासस








प्रतिक्रिया दिनुहोस्