
काठमाडौं, माघ १० । साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पुनः शीर्ष स्थानमा पुग्न सफल भएको छ ।
मनाङ १–० सरस्वती
शुक्रबार दशरथ रंगशालामा भएको पहिलो खेलमा पुछारको सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै मनाङ शीर्ष स्थानमा पुगेको हो ।
निर्णायक गोल
मनाङलाई जिताउन खेलको ४६औं मिनेटमा विमल रानाले निर्णायक गोल गरे ।
मनाङले गोल गर्ने थुप्रै प्रयास गरे पनि सरस्वतीका गोलकिपरले विफल बनाएका थिए ।
मनाङको १६ अंक
जितसँगै मनाङ कम्तीमा २४ घन्टा शीर्ष स्थानमा रहने भएको हो । ८ खेलबाट १६ अंक जोडेको मनाङले गोल अन्तरमा एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबलाई पछि पार्दै शीर्ष स्थान ओगटेको हो ।
शनिबार आर्मी–‘एनआरटी’
आर्मीले शनिबार मध्याह्न १२ बजे न्यूरोड टिम (एनआरटी)सित खेल्दैछ ।
च्यासल १–० ‘बीबीसी’
शुक्रबारै भएको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । च्यासलले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई १–० ले हरायो ।
साहुखलको गोल
‘इन्जुरी’ समयको दोस्रो मिनेटमा कप्तान सन्तोष साहुखलले गोल गर्दै च्यासललाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।
च्यासल नवौं स्थानमा
जितसँगै च्यासल ९ अंकसहित नवौं स्थानमा पुगेको छ । पराजित बीबीसी ८ अंकसहित दशौं स्थानमा झरेको छ ।
शनिबार फ्रेन्ड्स–संकटा
शनिबारको दोस्रो खेलमा दिउँसो ३ बजे फ्रेन्ड्स क्लब र संकटा क्लब खेल्नेछन् । संकटा ९ अंकसहित आठौं स्थानमा छ भने फ्रेन्ड्स ८ अंकबाट ११औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्