
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आज हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लवले संकटा क्लवसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा संकटा र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्ने टिम शीर्ष स्थानमा उक्लने छ । त्यसैले यी टिमको लक्ष्य खेलमा जीत निकाल्ने रहेको छ ।
आज अपराजित मनाङ लगातार तेस्रो जितको खोजीमा रहेको छ भने संकटा दोस्रो जितको खोजीमा रहेको छ । जारी ए डिभिजन लिगमा मनाङ अहिलेसम्म शतप्रतिशत नतिजा निकाल्ने एक्लो टिम रहेको छ ।
आठ पल्टको च्याम्पियन मनाङले जावलाखेल र हिमालयन शेर्पालाई हराएको हो । तीन पल्टको विजेता संकटाले पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको थियो भने, दोस्रो खेलमा फ्रेन्ड्सलाई २–१ ले पराजित गरेको थियो ।
लिगका पछिल्ला पाँच संस्करणमा यी दुई टिमबीच पाँच भेट भएकोमा त्यसमा मनाङ हाबी रहेको छ । मनाङ यी पछिल्ला पाँच खेलमध्ये चारमा विजयी भएको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।
वर्ष ०६९ मा संकटाले मनाङलाई १–१ को बराबरीमा रोकेको थियो । त्यसयता मनाङले संकटालाई वर्ष ०७० मा लगातार दुई पल्ट समान २–० ले पराजित गरेको थियो भने वर्ष ०७५ मा ३–१ र ०७६ मा ३–० ले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्