
एजेन्सी । बंगलादेशमा एक फेसबुक पोस्टको कारण हिंसा भड्किँदा दुर्गा पूजा स्थलमा तोडफोड भएको छ ।
तोडफोडका कारण कम्तीमा १५० अल्पसंख्यक परिवारमाथि हमला भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अधिकारीहरुले तीन जनाको मृत्यु भएको पुष्टि पनि गरेका छन् । बंगलादेशको कोमिल्ला जिल्लामा एक पूजा स्थलमा कुरानको कथित अपमानको अफवाहपछि हिंसा भडकिएको हो ।
हिंसा भड्किएपछि भारी सुरक्षाबल तैनाथ गरिएको छ । प्रहरीका अनुसार हिंसामा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीले अहिलेसम्म थुप्रै हिन्दु मन्दिर, घरहरू र पसलहरूमा तोडफोड गर्ने १० जनालाई पक्राउ गरेको छ ।
स्थानीयवासीले त्यहाँ यस्तो खालको घटना पहिलोपटक भएको बताएका छन् । २०११ को जनगणनाअनुसार बंगलादेशमा १४ करोड ९० लाख जनसंख्याको ८.५ प्रतिशत हिन्दु धर्मालम्बी रहेका छन् ।
कोमिल्ला जिल्ला सहित अन्य थुप्रै जिल्लाहरूमा हिन्दु समुदायका मानिसको ठूलो संख्या रहेको छ । पश्चिम बंगालका थुप्रै संगठनहरूले बुधबार रात भएको हिंसाको निन्दा गरेका छन् । विश्व हिन्दु परिषदले यस घटनाको गम्भीर रूपमा छानविन गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्