
काठमाडौं, पुस १७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले पहिलो जित हासिल गरेको छ ।
सशस्त्र २–१ सरस्वती
चौथो चरणको अन्तिम खेलमा बिहीबार सरस्वती युथ क्लबलाई पराजित गर्दै सशस्त्रले पहिलो जित दर्ता गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सशस्त्र २–१ ले विजयी भयो ।
गोलकर्ता
सशस्त्रका लागि दुवै गोल आशिष लामाले गरे । खेलको ६३औं मिनेटमा पहिलो गोल गरेका आशिषले ‘इन्जुरी’ समयको तेस्रो मिनेटमा दोस्रो गोल गरेका हुन् ।
सरस्वतीले गोलको खाता खोल्यो
त्यसको केही सेकेन्डमै सरस्वतीका विनोद केसीले गोल गर्दै सबैलाई चकित पारे । विनोदको त्यो गोलबाटै सरस्वतीले जारी लिगमा गोलको खाता खोलेको छ ।
यसअघिका तीनओटै खेलमा सरस्वती गोलविहीन थियो । गोलको खाता खोले पनि सरस्वतीले अहिलेसम्म अंकको खाता भने खोलेको छैन ।
मनाङ शीर्षमा, यस्तो छ अंकतालिका
यो खेलपछि चौथो चरणका खेलहरु सकिएका छन् ।
१० अंकसहित मनाङ–मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । मच्छिन्द्र र त्रिभुवन आर्मी क्लबको समान ९ अंक छ ।
चौथो स्थानको जावलाखेल युथ क्लबको ८ अंक हुँदा नेपाल पुलिस र थ्रीस्टार क्लबको समान ७ अंक छ ।
‘बीबीसी’को ६ अंक हुँदा ‘एनआरटी’, च्यासल युथ क्लबब, सशस्त्र र संकटा क्लबको समान ४ अंक छ ।
२ अंकको हिमालयन शेर्पा १२औं, १ अंकको फ्रेन्ड्स १३औं तथा अंकविहीन सरस्वती पुछारमा छ ।
शनिबारदेखि पाँचौं चरण
पाँचौं चरणका खेलहरु शनिबारदेखि हुनेछन् । मध्याह्न १२ बजे एनआरटीले जावलाखेलसित एन्फा कम्प्लेक्समा तथा दिउँसो ३ बजे मनाङले मच्छिन्द्रसँग दशरथ रंगशालामा खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्