Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


भारतविरुद्ध गोर्खाली पाराले लड्छौं– प्रशिक्षक अल्मुताइरी


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीप अन्तर्गत भारतविरुद्ध गोर्खाली पाराले लड्ने बताएका छन् ।

खेलअघिको पत्रकार सम्मेलनमा उनले भारत बलियो टोली भए पनि आफूहरू गोर्खाली पाराले लड्ने बताए ।

‘भारत एकदमै बलियो टोली हो, यसको मतलब यो होइन कि हामी उनीहरूसँग खेल्न सक्दैनौं,’ उनले भने, ‘हामी लड्नेछौं, भारतीय टोलीलाई सम्मान गर्दै हामी गोर्खाली तरिकाले लड्छौं ।’

अल्मुताइरीले नेपालमा भइरहेको सेलिब्रेसनप्रति पनि असन्तुष्टि प्रकट गरे । आफूहरू अहिले फाइनलको लागि क्वालिफाइ नभइसकेको र अझै दुई खुड्किलो बाँकी रहेको बताउँदै उनले अहिले नै सेलिब्रेसन गर्नु गलत तर्क गरे ।

‘हामी क्वालिफाइ भइसकेका छैनौं, त्यसैले अहिलेको सेलिब्रेसन गलत छ,’ उनले भने, ‘हामी जितको लागि लय समात्दै छौं ।’

त्यस्तै, भारतीय प्रशिक्षक इगोर स्टिम्याकले आफूहरू साफ च्याम्पियनसीप जित्नका लागि माल्दिभ्स आएको बताए । नेपालले राम्रो खेलिरहेको प्रतिक्रिया दिँदै उनले आफूहरूले नेपाललाई धेरै राम्रोसँग चिनेको जिकिर गरे ।

‘नेपालविरुद्ध यसअघि पनि हामीले दुईपटक खेलेका थियौं,’ उनले भने, ‘हामीले राम्रो खेल्नेछौं र मैदानमा जे गर्नुपर्छ त्यो गर्नेछौं तर खेल जित्छौं ।’

नेपाल र भारतको खेल भोलि राति पौने १० बजेबाट सुरु हुनेछ । नेपाल दुई खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहँदा दुवै खेलमा बराबरी खेलेको भारत तालिकाको चौथो स्थानमा छ ।

नेपालले आयोजक माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । भारतले भने बंगलादेशसँग १–१ र श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।