
काठमाडौं, पुस १६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधिको दाबेदार थ्रीस्टार क्लबले पहिलो हार व्यहोरेको छ ।
तीन खेलसम्म अपराजित रहेको थ्रीस्टारलाई चौथो खेलमा त्रिभुवन आर्मी क्लबले २–० ले पराजित गरेको हो ।
गोलकर्ता
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा आर्मीलाई जिताउन नवयुग श्रेष्ठले खेलको ५४औं तथा सन्तोष तामाङले ७९औं मिनेटमा एक/एक गोल गरे ।
पेनाल्टी खेर
‘इन्जुरी’ समयमा थ्रीस्टारका रुपेश केसीले प्रहार गरेको पेनाल्टीलाई आर्मीका गोलरक्षक विकेश कुथुले रोकेका थिए ।
आर्मी तेस्रो स्थानमा
जितसँगै आर्मी ९ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ भने हारले थ्रीस्टार ७ अंकसहित छैटौं स्थानमा झरेको छ ।
पुलिसद्वारा संकटा पराजित
बुधबारै भएको पहिलो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले संकटा क्लबलाई २–१ ले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्समै भएको खेलमा पुलिसलाई जिताउनेक्रममा सुमन लामाले खेलको ३३औं मिनेटमा गोल गरेका थिए ।
आत्मघाती गोल
त्यसअघि, खेलको १५औं मिनेटमा संकटाका अमित तामाङको आत्मघाती गोलबाट पुलिसले अग्रता लिएको थियो ।
आत्मघाती गोल गरेको तीन मिनेटपछि पाएको पेनाल्टीलाई भने अमितले नै सदुपयोग गर्दै बराबरी गोल गरेका थिए ।
अंकतालिका
जितपछि ७ अंकको पुलिस पाँचौं स्थानमा पुगेको छ । संकटा भने ४ अंकबाट दशौं स्थानमा रहेको छ ।
लिगको अंकतालिकामा १० अंकसहित साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ । मच्छिन्द्र क्लब ९ अंकसहित दोस्रो स्थानमा छ ।
बिहीबारको खेल
चौथो चरणको अन्तिम खेलमा बिहीबार सशस्त्र प्रहरीको एपीएफ क्लब र सरस्वती युथ क्लब दिउँसो ३ बजे एन्फा मैदानमा खेल्दैछन् । सशस्त्रको १ अंक छ । सरस्वतीमात्र अंकविहीन छ ।
प्रतिक्रिया दिनुहोस्