
काठमाडौं । इलामको सूर्याोदय नगरपालिका–११ मा संचालित साकेला रनिङ कप फुटबल प्रतियोगिताको उपाधी तीनघरे फुटबल क्लबले जितेको छ ।
केराबारी स्थित आधारभुत विद्यालयको खेलमैदानमा भएको फाइनलमा तीनघरेले मोक्ष गोदकलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी आफनो पक्षमा पारेको हो ।
खेलको चौथो मिनेटमा शेखर राईले गरेको गोल नै निर्णायक बन्यो । बिजेता टिमले नगद ६० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । विजेता टिमका लागि कांग्रेस नेता तथा समाजसेवी डम्बर खड्काले रकम उपलब्ध गराएका हुन ।
उपविजेता टिमले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र मात्र प्राप्त गर्यो । विजेता तथा उपबिजेता टिमलाई नेता डम्बर खडका र एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको वेष्ट डिफेन्डर मोक्षका रोहित राई, वेष्ट गोलकिपर तीनघरेका सर्जन लिम्बु, हाइ स्कोरर भेनस सुन्दरपानीका संजोग खड्का घोषित भए । त्यसैगरी बेष्ट फरवार्ड मोक्षका किरण राई र उदीयमान खेलाडी किस्मत राई घोषित भए ।
साकेला कप आयोजक समितीका संयोजक रविन राईको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथी समाजसेवी तथा नेता खडका, एन्फाका केन्द्रिय सदस्य निरोज खड्गी र वडाध्यक्ष टेकबहादुर राईलगायतले इलाम जिल्ला खेलकुदको संभावना भएको क्षेत्र भएकाले यसको प्रर्वद्धनमा आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
नेता खड्काले खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि आफ्नो साथ सहयोग निरन्तर रहने बताए । एन्फा केन्द्रिय सदस्य खड्गीले जिल्लाका यस्ता प्रतियोगिताहरुबाट नै देशले राष्ट्रिय स्तरको खेलाडी पाउने बताए ।
प्रतिक्रिया दिनुहोस्