११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


‘पीपीएल’को उपाधि भिडन्त आज, विजेतालाई २७ लाख


0
Shares

कृष्ण दवाडी (रासस)

कास्की, पुस १२ । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स स्पर्धामा उत्रिँदैछन् ।

अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली शनिबार फाइनल खेलमा मैदानमा उत्रिँदा पीपीएलको पहिलो उपाधिको खोजीमा हुनेछन् ।

चितवनले जारी प्रतियोगितामा उत्कृष्ट खेल पस्किँदै समूह चरणका पाँचओटै खेलमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो भने विराटनगरले ‘प्लेअफ’मा पुग्न कठिन संघर्ष गर्नुपरेको थियो ।

‘नेट रनरेट’मा काठमाडौंभन्दा अघि रहँदै प्लेअफमा बुटवललाई पराजित गरेर विराटनगर प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

लिग चरणका पाँच खेलमध्ये तीन खेलमा विराटनगर पराजित भएको थियो भने दुई खेलमा जित हासिल गर्न सफल भयो । तर, पछिल्ला दुई खेलमा भने विराटनगरले राम्रो प्रदर्शन गरेको छ ।

समूह चरणमा चितवनसँग १८ रनले पराजित भएको विराटनगरलाई फाइनलमा हारको बदला लिँदै पहिलो ‘फ्रेन्चाइज’ लिगको उपाधि उचाल्ने अवसर प्राप्त भएको छ ।

पोखरा रंगशालामा शुक्रबार फाइनल खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले आफ्नो तर्फबाट गल्ती कम गर्दै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए ।

दुवै टोली यस वर्षको पहिलो फ्रेन्चाइज लिग क्रिकेटको उपाधि जितेर सुखद् सुरुआतको तयारीमा रहेका छन् ।

चितवनका कप्तान पारस खड्काले पाँच खेलमा हासिल गरेको सफलतालाई फाइनलमासमेत निरन्तरता दिने गरी स्पर्धामा उत्रिने लक्ष्य रहेको बताए ।

‘फाइनललाई सहजरुपमा लिएका छैनौं । विगतमा के भयो, कस्तो रिजल्ट आयोभन्दा पनि भोलि कसरी राम्रो गर्नसक्छौं भन्नेमा हामीकेन्द्रित छौं’–खड्काले भने ।

दुवै टोलीले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको तथा एकार्कालाई हराउन सक्षम रहेकाले खेल प्रतिस्पर्धात्मक हुने खड्काले उल्लेख गरे ।

राष्ट्रिय टोलीका पूर्वकप्तान रहेका खड्काले विगतमा विदेशी खेलाडीको प्रभाव प्रतियोगितामा रहने गरे पनि यसपटक स्थानीय तथा विदेशी सबै खेलाडीले राम्रो गरिरहेको तथा स्थानीय खेलाडीको प्रदर्शन बढ्ता राम्रो रहनु देशका लागि शुभसंकेत भएको बताए ।

विराटनगरका कप्तान प्रदीप ऐरीले फाइनल खेल्ने टोली बलियो रहेको तथा आफ्नो टोलीले पछिल्ला खेलमा सुधार गरिरहेकाले मैदानमा गल्ती कम गर्दै उपाधि जित्नेगरी खेल्ने बताए ।

फ्रेन्चाइज लिगको पहिलो फाइनल खेल्दै गरेकाले टोलीका सम्पूर्ण खेलाडी उत्साहित रहेको बताउँदै उनले भने–‘मेरो कप्तानीमा पहिलोपटक फाइनल खेल्दा उत्साहित छु । गल्ती कम गर्दै उपाधि जित्नेगरी खेल्नेछौं ।’

प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले प्राकृतिक वातावरणमा हिमशृंखलालाई साक्षी राखेर खेल्ने अवसर विश्वका अन्य मुलुकमा नरहेको बताउँदै क्रिकेट पूर्वाधार निर्माणका लागि राज्यले काम अघि बढाउनुपर्ने बताउँछने ।

आवश्यक पूर्वाधार निर्माण गर्न सकेको खन्डमा पोखराको रंगशाला ‘तटस्थ मैदान‘का रुपमा विकास हुने र अन्तर्राष्ट्रिस्तरका प्रतियोगिता यहाँ सन्चालन हुने धेरै सम्भावना रहेको उनले औंल्याए ।

पीपीएलले क्रिकेटको जग बसाल्न सहयोग पुगेको चर्चा गर्दै लामाले गत वर्ष रु ४६ लाख खर्च गरेर तयार गरेको मैदानमा ‘साग’ खेलकुदलगायतका प्रतियोगिता सम्भव भएकाले थप व्यवस्थित गर्न सरकारी निकायबाट लगानी हुनुपर्ने उल्लेख गरे ।

मंसिर २९ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् ।

उत्कृष्ट खेलाडी, ब्याट्सम्यान तथा बलर गरी तीनजनालाई जनही एक/एकथान टीभीएस मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई रु एक लाख तथा ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

चितवन र विराटनगरसहित साविक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौं गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न ६ शहरका ६ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए ।