
काठमाडौं, पुस ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरणको खेलमा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गर्यो ।
आर्मीलाई दोस्रो जित दिलाउनेक्रममा कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले एक/एक गोल गरे । दुवै गोल मध्यान्तरपछि भएका हुन् ।
लगातार दुई बराबरी खेलेको शेर्पाको भने यो पहिलो हार हो ।
पुलिसले सरस्वतीलाई हरायो
शुक्रबारै दशरथ रंगशालामा भएको खेलमा पुलिसले सरस्वती युथ क्लबलाई २–० ले नै हरायो ।
मध्यान्तरको ‘इन्जुरी’ समयमा अन्जन राईले दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पुलिस १० जनामा सीमित भएको थियो ।
तर, जारी लिगको कमजोर टोली सरस्वतीले त्यसको फाइदा उठाउन सकेन ।
पुलिसका सुमन लामाले खेलको ४६औं र भोला सिलवालले ७९औं मिनेटमा एक/एक गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाए ।
अंकतालिका
यी खेलपछि लिगको अंकतालिकामा तीन खेलबाट मनाङ–मर्स्याङ्दी क्लब ९ अंकसहित शीर्ष स्थानमा छ ।
समान ६ अंकका मच्छिन्द्र क्लब र आर्मी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
५ अंकको जावलाखेल युथ क्लब चौथो स्थानमा रहेको छ ।
पुलिस, ‘एनआरटी’, थ्रीस्टार, च्यासल युथ र संकटा क्लबको समान ४ अंक छ ।
‘बीबीसी’को ३, शेर्पाको २ तथा सशस्त्र प्रहरीको एपीएफ क्लबको १ अंक छ । सरस्वती र फ्रेन्ड्स क्लब अंकविहीन छन् ।
शनिबारको खेल
लिगअन्तर्गत् शनिबार एउटामात्र खेल हुनेछ । तेस्रो चरणको अन्तिम खेलमा दिउँसो ३ बजे दशरथ रंगशालामा सशस्त्रले थ्रीस्टार क्लबसित खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्