२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


गुण्डागर्दी र प्रहरीको आडमा पार्टी कब्जा गर्ने दुःस्वप्न नदेख्न कोइरालाको चेतावनी


0
Shares

काठमाडौं, असोज ७ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कतै गुण्डागर्दी गरेर त कतै प्रहरी प्रशासन लगाएर संस्थापन पक्षले पार्टी संरचना कब्जा गर्न खोजेको आरोप लगाउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका सर्लाहीका कार्यकर्तालाई भेट्दै नेता कोइरालाले भन्नुभयो, ‘डडेल्धुरामा प्रहरी प्रशासन लगाएर अधिवेशन गरिएको छ । ७५ वर्ष लामो पार्टी इतिहासमा कहिल्यै पनि यस्तो भएको थिएन ।’

पार्टी संरचना कब्जा गर्ने उद्देश्यबाट जिल्ला–जिल्लामा नेताहरूले गुण्दागर्दी गरिरहेको भन्दै उहाँले थप्नुभयो, ‘पार्टी कब्जा गर्ने हिसावले जिल्ला–जिल्लामा नेताहरूले गुण्डागर्दी देखाइरहनु भएको छ, यो पार्टीलाई कदापी स्वीकार्य हुँदैन ।’

गुण्डागर्दी गर्नेहरू परास्त हुने भन्दै उहाँले शान्तिपूर्ण आन्दोलन र संयमित ढंगले गर्ने आन्दोलनमा आफूहरुको साथ रहने उहाँले बताउनुभयो ।

क्रियाशील विवाद समाधान नभएपछि सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस नेता कार्यकर्ता पार्टी कार्यालयमा धर्नामा रहेका छन् । विधान लत्याएर करिब पाँच सय जनालाई क्रियाशील सदस्यता दिइएको केन्द्रीय सदस्य अमरेशकुमार सिंहको आरोप छ ।

यसअघि मंगलबार पार्टी कार्यालय सानेपामै प्रदेश नम्बर २ का खेलकुद तथा युवा मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाही बरहथवा नगरपालिका ४ का वडाध्यक्ष लखेन्द्र महतोमाथि हातपात गरेकामा नेताहरुले आपत्ति जनाएका हुन् ।

धर्नामा ऐक्यवद्धता जनाउन अर्का नेता प्रकाशमान सिंह पनि सानेपा पुग्नुभएको थियो ।