११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


मनाङ शीर्ष स्थानमा, ‘बीबीसी’ले गर्न सकेन चमत्कार, संकटा–जावलाखेल बराबरी


0
Shares

काठमाडौं, पुस १० । साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पुनः शीर्ष स्थानमा पुगेको छ ।

शतप्रतिशत नतिजा निकाल्नेक्रममा आफ्नो तेस्रो खेलमा मनाङले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई १–० ले पराजित गर्‍यो ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङलाई महत्वपूर्ण ३ अंक दिलाउनेक्रममा २५औं मिनेटमा जगजीत श्रेष्ठले निर्णायक गोल गरेका थिए ।

रातो कार्ड

खेलको ७३औं मिनेटमा एकराज बुढाथोकीले रातो कार्ड पाउँदा मनाङ १० जनामा समेटिएपनि बीबीसीले कुनै चमत्कार गर्न सकेन ।

मनाङका कमल श्रेष्ठ खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

संकटा–जावलाखेल बराबरी

बिहीबारकै अर्को खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबले अंक बाँडेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा १–१ गोलको बराबरी भएको हो ।

खेलको ३६औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर, ७३औं मिनेटमा डाडी जुनियर वाम्बाले गोल गर्दै जावलाखेललाई बराबरीमा ल्याए ।

मनाङको ९ अंक

यी खेलपछि लिगको अंकतालिकामा ३ खेलबाट ९ अंकसहित मनाङ शीर्ष स्थानमा रहेको छ । मच्छिन्द्र क्लब ७ अंकसहित दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको जावलाखेलको ५ अंक भएको छ ।

दुई खेल जिते पनि गत सिजनको पुछारमा रहेर लिग सकाएका कारण २ अंक घटेकाले ४ अंकमा समेटिएको ‘एनआरटी’ चौथो स्थानमा छ । थ्रीस्टार क्लब, च्यासल युथ क्लब र संकटाको पनि ४ अंक नै छ ।

सरस्वती युथ क्लब र फ्रेन्ड्स क्लबले अंकको खाता खोल्न सकेका छैनन् । 

शुक्रबारका खेल

लिगअन्तर्गत् शुक्रबार मध्याह्न १२ बजे एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् ।

यस्तै, दिउँसो ३ बजे दशरथ रंगशालामा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् ।