११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


एपीएफले जित्यो पाँचौंपटक उपाधि


0
Shares

काठमाडौं, पुस ९ । प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सातौं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ टिमले जितेको छ ।

बुधबार काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपीएफले पाँचौंपटक उपाधि जितेको हो ।

नेपाली महिला फुटबलमा विभागीय टोलीहरुको दबदबा छ । देशभित्र हुने अधिकांश महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोलीहरुले जित्दै आएका छन् ।

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको सातौं संस्करणको फाइनल खेलले घरेलु फुटबलमा विभागीय वर्चश्वलाई थप प्रस्ट पारिदियो ।

सहभागी सबै तीनओटै विभागीय टोली सेमिफाइनलमा पुगे ।

फाइनलमा पुरानै प्रतिद्वन्द्वी आर्मीलाई पन्छाउँदै एपीएफले प्रतियोगितामा लगातार चौथो तथा समग्रमा पाँचौं उपाधि उचाल्यो ।

एपीएफको जितमा सरु लिम्बू र रेखा पौडेलले एक/एक गोल गरे ।

उपाधि जित्दा खुसी देखिएकी एपीएफकी कप्तान अनिता बस्नेत देशभित्र महिला फुटबलको अवस्थाप्रति भने त्यति उत्साहित छैनन् ।

आर्मी क्लबकी दीपा राई यो प्रतियोगिताको उत्कृष्ट खेलाडी बनिन् । विगत सात वर्षदेखि आर्मी क्लबबाट खेल्दै आएकी दीपा नेपाली सेनाले यो प्रतियोगितामार्फत् कैयौं महिलाहरुलाई फुटबलमा नयाँ आशा जगाएको ठान्छिन् ।

नेपाली फुटबलमा पुरुष र महिलाबीच ठूलो भिन्नता रहेको बताइन्छ । प्रतियोगिताको संख्या, उनीहरुले पाउने पुरस्कार र व्यावसायिकताको हिसाबले यो सत्य पनि हो ।

सीमित प्रतियोगिताले मात्रै नेपलाी महिला फुटबलको जग बलियो बनाउन नसकिने एपीएफ टिमका प्रशिक्षक जनकसिंह थारुको बुझाइ छ ।

नेपालमा महिला फुटबल खेल सुरु भएको चार दशक हुन लाग्यो । २०३८ सालमा पहिलोपटक देशभित्र महिला फुटबल खेलको अनुभव लिएको नेपालले यसको पाँच वर्षपछि अर्थात् २०४३ सालमा एसियन महिला च्याम्पियनसिपमा भाग लिएको थियो ।

३८ वर्षको अन्तरालमा नेपाली महिला टोलीले ओलम्पिक छनोटमा दोस्रो चरण तथा केही क्षेत्रीय प्रतियोगिताहरुमा उपविजेता बन्नुबाहेक खासै महत्वपूर्ण उपलब्धि हातपार्न सकेको छैन ।

पछिल्लो समय देशभित्र महिला फुटबल प्रतियोगिताको संख्या बढ्न थालेपछि भने महिला फुटबलमै आफ्नो भविष्य खोज्नेहरु उत्साहित बनेका छन् ।

भिडियो हेर्नुहोस्