Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


चिनियाँविरुद्धको ‘चार्ली फोक्स्टर’ अपरेशन, बेइजिङकै सूचनाले बनायो सफल


0
Shares

काठमाडौं, पुस ९ । नेपाल प्रहरीले नेपालमा बसेर अवैध धन्दा चलाइरहेका चिनियाँ नागरिकविरुद्ध चलाइएको अपरेशनलाई ‘चार्ली फोक्स्टर’को संज्ञा दिएको छ ।

संयुक्त अपरेशन

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रमुख, प्रहरी नायव महानिरीक्षक नीरज शाहीले नेपाल र चीनको संयुक्त अपरेशनमा उनीहरुलाई पक्रन सफल भएको बताए ।

नेपालमा विदेशीमाथि भएको हालसम्मकै ठूलो सफल अपरेशनका रुपमा लिएको नेपाल प्रहरीले यसका लागि चिनियाँ प्रहरीबाट ठूलो मद्दत मिलेको पनि स्वीकारेको छ ।

शाहीले भने, ‘चिनियाँपक्षले दिएको सूचनाको आधारमा करिब तीन महिनादेखि आफूहरुले काम गरिरहेका थियौं ।’

१२२ जना चिनियाँ नागरिक नियन्त्रणमा

सीआइबीले गएको सोमबार काठमाडौंका विभिन्न स्थानमा छापामारी ८ महिलासहित १२२ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को चिलीमा हालै सम्पन्न बैठकमा ‘एनसीबी’ बेइजिङले चिनियाँ नागरिकहरु नेपालमा बसेर ‘साइबर क्राइम’ गरिरहेको सूचना दिएपछि यो अपरेशन गरिएको पनि शाहीले जानकारी दिए ।

सीआइबी प्रमुख शाहीले सीआइबीले महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखालगायत अरु निकाय र चिनियाँ प्रहरीको समन्वयमा शंकास्पद ठाउँमा छापा मारिएको बताए ।

प्रहरीले काठमाडौंका मनमैजु, महाराजगन्ज र बूढानीलकन्ठका नौवटा घरमा छापा मारेर ८ महिला र ११४ पुरुष गरी १२२ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

पाँच दिनको म्याद थपेर अनुसन्धान

मंगलबार ती सबैलाई पाँच दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको छ । उनीहरु अरु अपराधमा पनि संलग्न रहेको आशंका प्रहरीले गरेको छ ।

डीआइजी शाहीले ती चिनियाँ नागरिकले पर्यटक भिसाको दुरुपयोग गरेको पनि बताए ।

प्रहरीलाई ‘दुर्व्यवहार’

सोधपुछ गर्ने प्रहरीलाई पक्राउ परेकाहरुले दुर्व्यवहार गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पक्राउ परेकाहरुको साथबाट ७४७ थान मोबाइल, ३३१ थान ल्यापटप, १८ थान सीपीयु, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३२७ थान सिमकार्ड र ६७ थान पासपोर्ट बरामद भएको प्रहरीले जनाएको छ ।