
काठमाडौं, मंसिर १५ । सामाजिक सन्जाल ‘ह्वाट्स एप’मा अमेरिकाबाट आइफोन, ल्यापटप, मोबाइल, क्यामेरा, घडी, शृंगारका सामग्री सस्तो मूल्यमा पठाइदिने भन्दै विज्ञापन गरी ठूलो रकम ठगी गरेको खुलासा भएको छ ।
ठगी धन्दा चलाउने गिरोहमध्येका तीनजना नेपालीहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा दोलखाको फुलपा गाउँपालिका–२ का ५२ वर्षीय रमेश खड्का, नवलपरासीको रामग्राम नगरपालिका–१७ का ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र सोही ठाउँका १९ वर्षीय सन्दीप कलवार रहेका छन् ।
अनलाइनबाट विज्ञापन गरी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।
उनीहरुले कृषि विकास बैंक र पानस रेमिट ‘ह्याक’ गरेर रकम निकालेको देखिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका खड्काले आफू नजिकका व्यक्तिहरुलाई विभिन्न बैंकमा खाता खोल्न लगाएर ठगीको रकम जम्मा गराएको महाशाखाका प्रमुख सहकुल थापाले बताए ।
यो गिरोहले ठगी गरेको रकम नाइजेरियन नागरिक पिटन हर्मन असेन्जा र ब्रिटिस नागरिक स्मिथ मोरिसलाई पठाउने गरेको पनि प्रहरीले जनाएको छ ।
यस धन्दामा झन्डै सात देशका नागरिकहरुको संलग्नता रहेको पनि प्रहरीले जनाएको छ ।
यो गिरोहले १६ ओटा बैंकमा गरेको कारोबार हेर्दा झन्डै १५ करोड रुपैयाँभन्दी बढी ठगी गरेको खुल्न आएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्