काठमाडौं । नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको सेवा विस्तारसँगै नेपालमा वित्तीय पहुँच बढेको हो । अध्ययनमा व्यक्तिको एकमात्र निक्षेप खाता गणना गर्दा पनि २०७७ जेठ मसान्तसम्ममा ६७.३४ प्रतिशत नागरिकसँग कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ ।
२०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत रहेको थियो । कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेकोमा पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेका छन् ।
२०७७ जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता रहेकोमा दुई करोड ९९ लाख २८ हजार ४३६ व्यक्तिगत निक्षेप खाता रहेका छन् ।
व्यक्तिले खोलेका कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको हिस्सा ९०.६ प्रतिशत र मुद्दती निक्षेप खाताको हिस्सा ३.१ प्रतिशत रहेको छ ।
व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा १५ वर्षभन्दा माथिको रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । वित्तीय साक्षरता प्रवद्र्धन, शाखा विस्तार, शाखारहित बैंकिङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्नेलगायतका नीतिगत व्यवस्थाले बैंक तथा वित्तीय संस्थाका शाखाबाट सेवा लिनेको संख्या क्रमशः घट्दै गएको छ ।
२०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ५ हजार ९७८ पुगेको र ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ ।
निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार ८४५ रहेको छ । प्रतिएक लाख जनसंख्यालाई सेवा पु¥याउने बैंकको शाखा संख्या औसतमा १८.९८ प्रतिशत रहेको छ । उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश नं. २ मा ९.७३ प्रतिशत रहेको छ ।
बैंकिङ कारोबारमा प्रविधिको प्रयोग बढ्दै गएको प्रतिवेदनले औंल्याएको छ । युवा पुस्ताको प्रविधि प्रयोगका आकर्षण र कोरोना महामारीका कारण प्रविधिमा आधारित सेवाप्रति आकर्षण बढ्दै गएको भन्दै विद्युतीय माध्यमको कारोबारका लागि वित्तीय साक्षरता बढाउनसमेत अध्ययनले सुझाव दिएको छ ।








प्रतिक्रिया दिनुहोस्