काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले आगामी वर्ष दोब्बर र पाँच वर्षमा ७ गुणा बराबर निर्यात बढाउने रणनीतिका साथ अघि बढिरहेको जनाएको छ ।
हाल १ अर्ब डलर बराबरको निर्यात भइरहेकोमा आगामी वर्ष २ अर्ब डलर बराबर पुर्याउने र आगामी ५ वर्ष अर्थात् २०२५ को अन्त्यसम्म ७ अर्ब डलर बनाउने महासंघको रणनीतिक लक्ष्य रहेको छ ।
महासंघले यसका लागि विश्वभरमा रहेका नेपाली नियोगका प्रमुखहरूसँग तीन दिने बृहत भचुअल अन्तरक्रिया गरेको जनाएको छ । महासंघले बिहीबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
महासंघका अध्यक्ष रामबहादुर गुरुङले इतिहासमै पहिलो पटक नेपालको नियोग रहेका ४० राष्ट्रका नियोग प्रमुख एवं प्रतिनिधिहरूसँग गहन छलफलको सुरुवात गर्न महासंघ सफल भएको बताउनुभयो । छलफल सकारात्मक भएको उहाँले जिकिर गर्नुभयो ।
हरेक नियोगका प्रमुखसँग त्यस देशमा नेपाली वस्तुको सम्भाव्यताबारे अध्यन गरी सुझाव माग गरिएको महासंघले जनाएको छ । नियोगहरूसगं निर्यात प्रवर्द्धनका लागि संयुक्त अध्ययन गरिने पनि महासंघले जनाएको छ ।
कूल गार्हस्थ उत्पादनमा घट्दै गएको निर्यातको योगदान बढाउन महासंघ प्रतिबद्ध रहेको अध्यक्ष गुरुङले बताउनुभयो । आर्थिक वर्ष २०५६/०५७ सम्म जिडिपीमा निर्यातको योगदान १३ प्रतिशत रहेकोमा अहिले ३ प्रतिशत हाराहारीमा खुम्चिएको छ ।








प्रतिक्रिया दिनुहोस्