१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


१३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना अधुरै


0
Shares

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल बङ्गलादेशको यु–२३ टोलीसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज(शनिबार) भएको खेलमा नेपाल बङ्गलादेशसँग ४४ रनले पराजित भएसँगै नेपालको स्वर्ण जित्ने सपना समाप्त भएको हो ।

बङ्गलादेशले जीतका लागि दिएको १५६ रनको विजयी लक्ष्य पच्छाएको नेपाल निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १११ रनमा समेटियो ।

खराब शुरुआत गरेको नेपालले १४ रनमा तीन विकेट गुमाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए भने उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

बङ्गलादेशका तान्भिर इस्लाम, सौम्या सरकार, सुमोन खान र मेहेदी हसनले समान दुई/दुई विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।

उसका लागि कप्तान नाजमूल होसेन सान्तो र आफिफ होसेनको ९४ रनको साझेदारी गरेका थिए । बलिङतर्फ नेपालका पारस खड्काले तीन विकेट हात पारे ।

यस्तै दीपेन्द्र सिंह ऐरीले दुई तथा अविनास बोहराले एक विकेट लिए ।

चार खेलमा दुई जीत र दुई हार व्यहोरेको नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले चार खेलमा चार अङ्क जोडेको छ ।