
सुनसरी, मंसिर २० । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीबाट थप सात दिनको म्याद थपिएको छ ।
यसअघि, गएको मंगलबार उनलाई पहिलोपटक चार दिनको म्याद थप गरिएको थियो ।
अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थपको माग गर्दै शुक्रबार उनलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
अदालतले थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।
सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबाविरुद्ध आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले यही मंसिर १६ गते विराट नर्सिङहोमको ‘आइसीय’कक्षबाटै उनलाई पक्राउ गरेको थियो । म्याद थपपछि पनि उनी अस्पतालमै रहँदै आएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पतालमा उपचाररत् छन् ।
त्यहीँबाट उनलाई एम्बुलेन्समा राखी अदालत लगिएको थियो । सात दिनको म्याद थपपछि पनि विराट नर्सिङहोम नै लगिएको छ ।
उनको अस्पतालमै बयान हुने जनाइएको छ ।
पक्राउ पर्नुअघिदेखि नै उनी विराटनगरस्थित विराट नर्सिङहोममा उपचार गराइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्