काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपाल रजतपदकमा समेटिएको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनल खेलमा नेपालले भारतविरुद्ध अग्रता लिएरपनि पराजित हुनपुग्यो ।
पहिलो सेट १७–२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट जित्न सफल भएको थियो । दोस्रो सेट २५–२३ ले जित्नेक्रममा नेपालले १७–१७ को बराबरीपछि अग्रतालाई कायम राखेको थियो ।
तेस्रो सेट नेपालले २५–२१ ले जित्यो । तेस्रो सेटमा पनि नेपाल १७–१७ को बराबरीपछि अगाडि लागेको थियो ।
चौथो सेट भने नेपालले २०–२५ ले गुमायो । १४–१४ को बराबरीपछि भारत अगाडि लागेको थियो । पाँचौं सेट नेपालले ६–१५ को फराकिलो अन्तरले गुमायो ।
पहिलोपल्ट रजतपदक
नेपालले साग इतिहासमा महिला भलिबलमा पहिलोपटक रजतपदक जितेको हो । यसअघि तीनपटकसम्म नेपाल कास्यपदकमै सीमित भएको थियो ।
महिला भलिबलमा श्रीलंकाले कास्यपदक जित्यो ।
नेपाली टोलीले केहीअघि बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । सोही कारण नेपाललाई १३औं सागमा स्वर्णपदकको दाबेदार मानिएको थियो ।





प्रतिक्रिया दिनुहोस्