
काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ ।
सोमबार पोखरामा सुरु भएको ट्वेन्टी–२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराएको हो ।
खेलमा पहिले ब्याटिङ गरेको माल्दिभ्सले १० ओभर १ बलमा ‘अलआउट’ हुँदै १६ रनमात्र बनाएको थियो ।
माल्दिभ्सका ९ खेलाडीले रनको खातासमेत खोल्न नसकेको इनिङ्समा नेपालकी अञ्जली चन्दले विश्व कीर्तिमान बनाइन् ।
अञ्जलीले बिनाकुनै रन दिएर दुई ओभर १ बलमा ‘ह्याट्रिक’सहित ६ विकेट लिइन् ।
यसअघि, मलेसियाकी मास अलिसाको नाममा ३ रन खर्चेर ६ विकेट लिएको कीर्तिमान थियो ।
खेलमा नेपालकी करुणा भण्डारीले २ विकेट लिइन् ।
जवाफमा नेपालले ५ बलमा कुनै विकेटको क्षतिबिना नै जित हासिल गर्यो । काजोल श्रेष्ठले १३ रन बनाइन् ।
अब नेपालले बुधबार बंगलादेशसित र शुक्रबार श्रीलंकासित खेल्नेछ ।
चार टोलीबीच भइरहेको खेलमा शीर्ष दुई टोलीले स्वर्णपदकका लागि फाइनल खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्