Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


तालिवान विद्रोही नेताहरू चीन भ्रमणमा, चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता


0
Shares

एजेन्सी । अफगानिस्तानको सरकारी सेनाले तालिवान विद्रोही समूह विरुद्धको कारबाही तीव्र बनाइरहेको बेला चीनले भने तालिवान नेताहरुलाई आफ्नो देशमा स्वागत गरेको छ ।

तालिवानका सह–संस्थापक तथा मुख्य वार्ताकार मुल्ला अब्दुल गनी बरादार नेतृत्वको तालिवान प्रतिनिधि मण्डललाई चीनले स्वागत गरेको हो ।बरदारको टोलीले चिनियाँ विदेशमन्त्री वाङ यीसंग चीनको थियान्चिन शहरमा वार्ता समेत गरेको तालिवान प्रवक्ता मोहम्मद नइमले जनाएका छन् ।

राजनीति, आर्थिक, र सुरक्षा विषयमा वार्ता केन्द्रीत रहेको पनि तालिवान प्रवक्ताले ट्विटर मार्फत जनाएका छन् । अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेपछि पकड क्षेत्र बढाएर दुई तिहाई भूमाग कब्जा गरिसकेको तालिवानविरुद्ध केही दिन यता अफगान र अमेरिकी सेनाले हवाई आक्रमण तीव्र बनाईरहेका छन् ।

अफगानिस्तानका महत्वपुर्ण क्षेत्र बदख्सान र कान्दहर प्रान्तका कैयौं भूमाग तालिवानले कब्जा गरिसकेको छ । चीनले तालिवान विद्रोहीलाई आफ्नै देशमा डाकेर संवाद गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

चीनले तालिबानलाई अफगानिस्तानको राजनीतिक र सुरक्षामा प्रभाव पारिरहने शक्तिको रुपमा लिएको विश्लेषण गरिएको छ । यस्तै चीनका उइगुर मुश्लिम विद्रोहीलाई शान्त पार्न पनि चीनले तालिवानलाई प्रयोग गर्न खोजेको अनुमान पनि गरिएको छ ।