– दिपक घिमिरे/ ईमेज
भैरहवा । पछिल्लो समय कुस्ती प्रतियोगिताप्रति धेरैको आकर्षण बढ्दै गएको छ ।
तराई क्षेत्रमा बढी रुचाइएको कुस्ती खेलमा स–साना बालकदेखि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका पहलवानहरु आकर्षित छन् ।
कुस्ती खेल्नका लागि नेपाली पहलवानका साथै भारतीय पहलवान पनि नेपाल आउने गर्दछन् ।
रेस्लिङ् खेलको झल्को दिने यस खेलमा नेपालका साथै भारतका विभिन्न स्थानबाट पनि दर्शकहरु आउने गरेका छन् ।
रुपन्देहीका विभिन्न ठाँउमा प्रतियोगिताकै रुपमा कुस्ती खेल हुन थालेको छ ।
रुपन्देहीको रोहिणीको पोखरभिण्डी र ओमसतिया गाँउपालिका ५ गौरी तथा वडा नम्बर ६ मझौलीमा बर्षेनि कुस्ती प्रतियोगिता हुने गरेको छ ।
त्यस्तै भैरहवामा आयोजना हुने सबैजसो मेला तथा महोत्सवमा पनि कुस्तीलाई समेटिने गरिएको छ ।
कुस्ती खेल हेर्न दर्शकहरुलाई जति रमाइलो लाग्छ त्यति नै चुनौती खेलाडीका सामु हुन्छन् ।
आवश्यक अनुसार प्रशिक्षक, खेल मैदानसहितको व्यवस्थापन नहुँदा पहलवानहरु भने कुस्तीमा रमाउन सकिरहेका छैनन् ।
अर्कोतिर यो खेललाई सरकारले पनि प्राथामिकतामा राख्न सकिरहेको छैन ।
सरकारको उदासीनताका कारण पनि कुस्ती खेल फस्टाउन नसकेको कुस्ती संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद कुर्मीको भनाइ छ ।
तराईका जिल्लामा कुस्तीलाई निकै नै रुचाइए पनि यसका खेलाडीहरुलाई टिकाइरहन सक्ने स्थिति देखिँदैन ।
अन्य खेललाई जस्तै यसलाई पनि सरकारी तवरबाट केही प्रयास गर्नु आवश्यक छ ।





प्रतिक्रिया दिनुहोस्