७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


कीर्ते सही गरी बैंक खाताबाट यसरी निकालियो २० लाख (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र राममान डंगोल (इमेज)

काठमाडौं, मंसिर ११ । प्रहरीले कीर्ते सही गरी अन्य व्यक्तिको बैंक खाताबाट रकम निकाल्ने गिरोहलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

आफ्नो ‘चेकबुक हरायो’ भन्दै बैंकमा पुगेर यो समूहले अर्कैको चेकबुक लिइ त्यसमा कीर्ते सही गरी रकम निकाल्न सफल भएको हो ।

यो घटनाले नेपाली बैंकिङ प्रणालीको कमजोरीलाई पनि उद्घाटित गरेको छ ।

अन्जन बराल । बैंक खातावालाको नक्कली सही गरी विभिन्न बैंकबाट रकम निकालेको आरोपमा उनी पक्राउ परेका छन् । उनीसँगै अन्य पाँचजना पनि पक्राउ परेका छन्, सोही कान्डमा ।

काभ्रे, पाँचखालका अन्जनले साथीहरुको सहयोगमा काठमाडौं निवासी गोपालमान राजबाहकको कीर्ते सही गरी उनको जनता बैंकको खातामा रहेको १९ लाख ९९ हजार रुपैयाँ रकम निकाल्न सफल भएका थिए ।

यो गिरोहले गत मंसिर ८ गते ललितपुर, ग्वार्कोमा रहेको जनता बैंकको शाखामा गइ आफू गोपाल राजबाहक भएको र चेकबुक हराएको भन्दै निवेदन दिएर नयाँ चेक लिइ बानेश्वर शाखाबाट ९ लाख ९९ हजार रुपैयाँ झिकेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सोही दिन उनीहरुले न्यूरोडको शाखामा गइ जनता बैंकबाट पाँच/पाँच लाख गरी १० लाख निकालेका थिए ।

उनीहरुले पैसा झिक्दा राजबाहकको मोबाइलमा रकम भुक्तानी गरेको एसएमएस जाने डरले फोन गरी आफूहरु टेलिकमको कर्मचारी भएको र मोबाइल ‘फर्म्याट’ गर्न लागेको भन्दै मोबाइल एक घन्टाका लागि बन्द गर्न भनेका थिए । त्यसपछि गोपालमानले मोबाइल केहीबेर बन्द गरेका थिए ।

मोबाइल ‘अन’ गरेपछि आएको ‘एसएमएस’ राजबहाकले आफ्ना साथी–भाइलाई पढ्न लगाएपछि घटना सार्वजनिक भएको हो ।

घटना सार्वजनिक भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो ।

कुनैपनि व्यक्तिले कसैको नाममा रहेको चेक साट्न जाँदा रकम भुक्तानी गर्ने व्यक्तिको परिचयपत्र चाहिने बैंकको नियम भएकाले बैंकको कर्मचारीको मिलमतो नभइ यो काम सम्भव नहुने महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीको भनाइ छ ।

पक्राउ परेका गिरोहको साथबाट प्रहरीले विभिन बैंकको चेकबुक, नागरिकताको फोटोकपी, फोटो, रजिस्ट्ररलगायत विभिन्न कागजातहरु बरामद गरेको छ ।

यो गिरोहका मुख्य व्यक्ति अन्जन बरालले विभिन्न ‘बाइक शोरुम’हरुमा गइ ‘बाइक टेस्ट गर्छु’ भन्दै बाइक नै लिएर फरार हुने गरेको पनि खुलासा भएको छ ।

कहिले बैंक ‘एटीएम ह्याक’ हुने त कहिले कीर्ते सहीबाट रकम निकाल्न थालेपछि नेपालको बैंकिङ प्रणालीको सुरक्षामा समीक्षा गर्नुपर्ने जरुरी देखिएको छ ।

भिडियो हेर्नुहोस्