१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सडक बनाउन ढिला गर्ने ठेकेदारको फोटो कालो पोतेर सडक छेउमा झुण्ड्याइयो


0
Shares

काठमाडौं । म्याग्दीको बेनी–दरवाङ सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीका सञ्चालकको तस्वीर सार्वजनिक गरेर विरोध गरिएको छ । बेनी नगरपालिका–६ डम्मरास्थित हिलाम्मे सडकको छेउमा लामा–समानान्तर जेभीका सञ्चालक जिपछिरिङ लामाको तस्वीर कालो पोतेर सडक छेउमा झुण्डयाइएको छ । दोलखाका लामा निर्माण कम्पनीका सञ्चालक हुनुहुन्छ ।

समानान्तर निर्माण कम्पनीका सञ्चालक अच्युत खरेल हुनुहुन्छ । यो सडक आयोजनाको आधिकारिक प्रतिनिधि दयाराम थापा हुनुुहुन्छ । फ्लेक्समा प्रिन्ट गरेर तस्वीर राखिएको छ । तस्वीर कसले राखेको हो भन्ने खुलाइएको छैन । दुईपटक थपिएको सम्झौताको म्याद गत चैत महिनामा सकिएको बेनी–दरवाङ सडक आयोजनाको बेनीबाट सिमसम्मको पहिलो प्याकेजको भौतिक प्रगति ५५ प्रतिशत छ । गत वैशाखमा निषेधाज्ञा शुरु भएपछि निर्माण व्यवसायीले काम रोकेका थिए ।

बर्सातसँगै पहिरो खसेर सडक हिलाम्मे भएको छ । आवतजावतमा समस्या भएको छ । नागरिकलाई सास्ती भएको छ । विसं २०७४ असोज ४ गते १२ दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न रु ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का लिएको लामा–समानान्तर जेभीसँग भएको ठेक्काको पछिल्लो म्याद २०७७ चैत २३ गते सकिएको थियो ।

अठार महिनामा सकिनुपर्ने सडकको करिब चार वर्षको अवधिमा फराकिलो बनाउने, नाली, पर्खाल निर्माण सकिएको ठाउँमा कालोपत्र गर्न सबबेस राख्ने काम भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार बेनी–दरवाङ सडकको पहिलो प्याकेजको कोरोनाको छ महिना र सार्वजनिक खरिद ऐनको दशौँ संशोधनबाट थपिएको नौ महिनाको म्याद सकिएपछि थप गर्ने सबै आधार सकिएको छ ।