Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


स्थायी कमिटी बैठकबाट बाहिरिए माधव पक्षका नेता, बैठक रोक्न ओलीद्वारा अस्वीकार


0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू अध्यक्ष केपी ओलीले राखेको स्थायी कमिटीको बैठकमा पुगेर बाहिरिएका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको बैठकस्थलमा पुगेर माधव पक्षीय नेताहरू बाहिरिएका हुन् । एमाले स्थायी कमिटी बैठकमा नेपाल पक्षका भीम रावल, गोकर्ण विष्ट, घनश्याम भुसाल र भीम आचार्यसहितका नेता पुगेका थिए ।

बैठकस्थलमा प्रवेश गर्दै गर्दा नेपाल पक्षका नेताहरूले बैठक रोक्ने माग गर्न आएको बताएका थिए । १५ मिनेटपछि बाहिरिएका नेताहरूले बैठक रोक्ने प्रस्ताव अध्यक्ष ओलीले नमानेको बताउनुभयो ।

‘पार्टी एकताका लागि थप गृहकार्य आवश्यक छ । हामी पार्टी एकता बचाउन लागिरहेका छौं, त्यसका लागि हामीले बैठक रोक्न भन्यौं,’ उपाध्याक्ष भीम रावलले भन्नुभयो, ‘तर, अध्यक्षले मान्नुभएन ।’

एमालेको पार्टी विवाद समाधान गर्न गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो । तर दुई पक्षबीचको विवाद समाधान भएको भनिएको भोलिपल्टै सर्वोच्च अदालतको आदेशबाट ओलीले प्रधानमन्त्री पद त्याग्नु परेको थियो ।

त्यसपछि एमालेको विवाद फेरि बल्झिएको अनुमान गरिएका बेला ओलीले स्थायी कमिटी र दलको बैठक डाक्नुभएको हो । ओलीले बालुवाटारबाट बालकोट पुगेर अब वरिष्ठ नेता माधवकुमार नेपाल एमालेमा रहने कुनै सम्भावना नरहेको अभिव्यक्तिपछि एमाले एकतामा थप संकट उत्पन्न भएको हो ।

Skip This