८ भाद्र २०८२, आइतबार | Mon Aug 25 2025


नेपालमा ‘२४.३ प्रतिशत मानिसमा मोटोपनको समस्या’


0
Shares

काठमाडौं, मंसिर ५ । नेपालमा २८.९ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको एक अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले १५ देखि ६९ वर्ष उमेर समूहका पाँच हजार ५९३ जना व्यक्तिमा गरेको अध्ययनले ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको देखाएको हो ।

यस्तै, सबैभन्दा बढी प्रदेश नम्बर–५ मा ३६.६ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् ।

नसर्ने रोगसम्बन्धी जोखिम तत्वबारे गरिएको सर्वेक्षणले एक महिनामा २०.८ प्रतिशत व्यक्तिले मद्यपान सेवन गर्ने गरेका छन् । जसमा ३४.६ प्रतिशत पुरुषको संख्या रहेको छ भने ८.८ प्रतिशत महिला रहेका छन् ।

एक महिनामा अत्यधिक मद्यपान सेवन गर्नेहरु ६.८ प्रतिशत रहेका छन् । जसमा १२.४ प्रतिशत पुरुष रहेका छन् भने १.७ प्रतिशत महिला रहेका छन् ।

यस्तै, एक दिनमा ८० ग्रामभन्दा कम फलफूल र तरकारी खानेको संख्या भने ९६.७ प्रतिशत रहेको छ । जसमा ९७ प्रतिशत पुरुष रहेका छन् भने ९६.३ प्रतिशत महिला रहेका छन् ।

अध्ययनले नेपालमा २४.३ प्रतिशत मानिसमा मोटोपनको समस्या रहेको देखाएको छ ।

परिषद्ले बिहीबार अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले नसर्ने रोगप्रति मानिसको सचेतना बढ्दै गएपनि व्यवहारमा भने कार्यान्वयन नभएको बताए ।