९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


नेपालका २१ प्रतिशत बालबालिका अझैपनि खोपको पहुँच बाहिर


0
Shares

काठमाडौं, कात्तिक २७ । परिवार कल्याण महाशाखाले २१ प्रतिशत बालबालिका अझैपनि खोपको पहुँचभन्दा बाहिर रहेको जनाएको छ ।

विश्व निमोनिया दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा हालसम्म ५८ ओटा जिल्लामात्र पूर्णखोप जिल्ला घोषणा भएको जनाइएको हो ।

कार्यक्रममा पाँच वर्षभन्दामुनिका १६ प्रतिशत बालबालिकाको मृत्यु निमोनियाबाट हुने गरेको जनाइयो ।

परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. झलकप्रसाद शर्माले पोषण र खोपका लागिमात्र सरकारले यो वर्ष चार अर्ब रुपैयाँ विनियोजन गरेको तर सोचेअनुरुपको प्रतिफल प्राप्त गर्न भने नसकिएको बताए ।

यस्तै, विश्व स्वास्थ्य संगठनले पाँच वर्षमुनिका ३० लाख बालबालिकामध्ये १७ लाख बालबालिकामा श्वासप्रश्वास समस्या हुने गरेको जनाएको छ ।

सन् २०१८ मा विश्वका ८ लाख बालबालिकाको मृत्यु निमोनियाबाट भएको र उपयुक्त कदम नचाले सन् २०३० सम्ममा निमोनियाबाट एक करोड १० लाख बालबालिकाको मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।

पाँच वर्षमुनिका बालबालिकामा बढी देखिएको निमोनिया रोगले फोक्सोमा असर पुर्‍याउँछ ।