९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै


0
Shares

डडेल्धुरा, कात्तिक २४ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आफ्नो १७औंपटकको अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा भर्ना गरिएका डा. केसीलाई थप उपचारका लागि जिल्लाबाहिर लैजान अस्पतालले सुझाएको छ ।

तर, केसीले भने आफू ठीक रहेको भन्दै बाहिर जान मानेका छैनन् ।

अनशनको पाँचौं दिन गएको शुक्रबार स्वास्थ्यमा समस्या आएपछि केसीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो ।

केसीको पिसाबमा ‘क्रियटिनिन’ बढेको र चिनीको मात्रा घटेको जनाइएको छ ।

यस्तै, शरीरमा पानीको मात्रा घटेको र कमजोर हुँदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।

डडेल्धुरा अस्पतालमा ‘आइसीयु’ नहुँदा चिकित्सकलाई थप समस्या परेको हो ।

डडेल्धुरामा गएको सोमबारदेखि अनशन सुरु गरेका डा. केसीको अनशनको आइतबार सातौं दिन हो ।

सरकारी नम्बरप्लेटका सवारी–साधन सन्चालनमा रोक

डा. केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी नम्बरप्लेटका सवारी–साधन सन्चालनमा रोक लगाइयो । बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकलमा रोक लगाइएको हो ।

साथै, नागरिक आन्दोलन संघर्ष समितिको अगुवाइमा डडेल्धुरा सदरमुकाम बागबजार क्षेत्रमा आइतबार दिउँसो साढे १ बजेदेखि एक घन्टाका लागि पसलहरु बन्द गराइएको छ ।

आइतबारै समितिले मसाल जुलुससमेत निकालेको छ ।

डा. केसीको समर्थन तथा जीवनरक्षाको माग गर्दै ऐक्यबद्धता व्यक्त गर्नेहरुसमेत बढ्दै गएका छन् । केसीले सातबुँदे मागसहित अनशन सुरु गरेका हुन् ।