९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


कुपोषण १४ प्रतिशतमा झार्ने लक्ष्य


0
Shares

काठमाडौं, कात्तिक १९ । पोषण सेवा विस्तार अभियानको पहिलो सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

राष्ट्रिय योजना आयोगको आयोजनमा सुरु भएको सम्मेलनमा ७३ देशका एक हजार बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

सम्मेलनबाट विश्वमा भएको पोषणको समग्र अवस्था तथा कुपोषणको न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्मेलनबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले सरकारले पोषण वृद्धिको विभिन्न कार्यक्रमहरु ल्याएको भन्दै अभियानबाट सरकारको कार्यक्रममा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आइभोरी कोस्टका उपराष्ट्रपति डेनियल कब्लानले पोषणको विकासमा निजी तथा सरकारी दुवै क्षेत्रबाट उत्तिकै सहयोग हुनुपर्ने बताए ।

अभियानको संयोजककारुपमा रहेकी योजना आयोगका सदस्य डा. उषा झाले सरकारको नीति तथा कार्यक्रममासमेत पोषणको विकासलाई ध्यान दिइएकाले यसबाट कुपोषण अन्त्यमा सकारात्मक प्रभाव परेको बताइन् ।

नेपालमा पाँच वर्षमुनिका प्रत्येक तीनमध्ये एकजना बालबालिकामा कुपोषणको समस्या छ । प्रत्येक दुई बालबालिकामध्ये एकजनामा पोषणको अभावमा पूर्णरुपमा वृत्तिविकास हुन नसकेको आयोगले जनाएको छ । तर, कुपोषण हुने बालबालिकाको संख्यामा भने कमी आएको छ ।

सन् २००१ मा ५७ प्रतिशत बालबालिकामा कुपोषणको समस्या रहेकामा २०१६ मा यो संख्या ३६ प्रतिशतमा झरेको थियो ।

२०२५ सम्म यसलाई २१ प्रतिशतमा झार्ने र २०३० सम्ममा १४ प्रतिशतमा घटाउने सरकारको लक्ष्य छ ।