२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थावारे किन लुकाइयो सूचना ? यस्तो रहेछ कारण (भिडियो)


13
Shares

-प्रज्ञा तिमल्सिना, सहदिप केसी र नविन स्थापित(ईमेज)

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटार निवासमा आराम गरिरहेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आम मानिसले चासो राख्नु स्वाभाविक हो तर यसपटक भने प्रधानमन्त्रीको निजी सचिवालय र उनले उपचार गराएको अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सही सूचना दिन आनाकानी गर्‍यो ।

गत बुधवार विहाननै प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा उपचारका लागि पुगेका थिए । गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका प्रधानमन्त्री ओली अस्पताल पुग्दा आममानिसले चासो राख्नु स्वभाविकै थियो ।

प्रधानमन्त्रीलाई के भएको छ भनेर सोधी–खोजी बढ्यो तर सम्बन्धित निकाय भने तर्केर बस्यो । अस्पताल प्रशासनले त प्रधानमन्त्री अस्पताल भर्ना भएको सूचनासमेत लुकाउन खोज्यो ।

निजी चिकित्सक डा. दिव्या सिंहले संचारकर्मीको फोन बेवास्ता गरिन । अस्पतालमा भर्ना भएर उपचार प्रक्रिया सुरु गर्दा पनि प्रधानमन्त्रीको निजी सचिवालयले नियमित चेकजाँचका लागि गएको भन्दै बास्तविक अवस्था बताउन आलटाल गर्‍यो । 

बुधबार रक्षामन्त्री ईश्वर पोखरेल प्रधानमन्त्रीलाई भेटन अस्पताल आए ।  झन्डै १ घण्टा पश्चात अस्पतालबाट बाहिरिँदै गर्दा मन्त्री पोखरेलले पनि त्यसैगरि तर्किन खोजे ।

उनले प्रधानमन्त्री सामान्य परीक्षणको लागि मात्र आएको र बुधवार नै फर्किने बताए ।

मिर्गौलाको डायलासिस गरिसक्दा पनि बुधवार साँझ अस्पतालले प्रधानमन्त्री ओली सामान्य परीक्षणको लागि मात्र आएको भन्दै विज्ञप्ति निकाल्यो ।

बिहावार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझन आएका नेकपाका नेता भिम रावलले प्रधानमन्त्रीको डायलासिस भइरहेकाले आफुले भेटन नपाएको जानकारी दिएपश्चात मात्र प्रधानमन्त्रीको डायलासिस गराइएको सूचना प्रमाणित भएको थियो ।

प्रधानमन्त्रीलाई भेट्न आएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायण काजी श्रेष्ठले समेत प्रधानमन्त्रीको दुई पटक डायलासिस गराइएको र बिहीवार नै डिस्चार्ज हुने बताएका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था वारे जानकारी दिन बिहिवार साँझ ग्रान्डी अस्पतालले पत्रकार सम्मेलन गर्‍यो । तर पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेको मात्र सहभागिता थियो ।

पत्रकारले प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंहलाई पनि बोलाइदिन आग्रह गरेका थिए तर डा.पाण्डेले आफू अस्पतालको निर्देशक र प्रवक्ता भएकाले आफुले मात्र बोल्ने बताए ।

उनले प्रधानमन्त्रीको स्वास्थ्य ठिक छ । आफुहरुले राम्रो उपचार गरेको बाहेक प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे विस्तृमा खुलाउन चाहेनन् ।

प्रेसमिटका क्रममा डा. पाण्डेले प्रधानमन्त्रीको मिर्गौलाको दुई पटक हेमोडायलासि गराइएको बताए पनि अब बाँकी उपचार प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे संचारकर्मीलाई केही बताउनु भएन ।

रगतमा क्रियाटिनको मात्रा कति थियो अहिले कति छ ? अब पुनः कहिले डायलासिस गराउनु पर्छ ? डायलासिस गराउनु पर्ने अवस्था किन आयो ? लगाएतका प्रश्नको जवाफबिना नै पत्रकार सम्मेलन सकिएको थियो ।

पत्रकारको प्रश्न थपिदै गयो तर निर्देशक डा. पाण्डेले सबै जानकारी गराउन नमिल्ने भन्दै सूचना दिएनन् । विरामीको व्यक्तिगत गोपनियतालाई ध्यानमा राखेर सुरुमै सुचना नदिएको डा. पाण्डेको जिकिर थियो ।

उपचार प्रक्रियामा विरामीको गोपनियताको हकलाई बेवास्ता गर्न त मिल्दैन तर राष्ट्रको कार्यकारी प्रमुख विमारी हुँदा उनलाई के भएको हो र कस्तो उपचार चल्दै छ भन्ने जानकारी पाउनु पनि आम–जनताको हक हो तर यसपटक प्रधानमन्त्रीको निजी सचिवाले जसरी सूचना लुकाउन खोज्यो यसले चौतर्फी आलोचना भने बढाएको छ ।