२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रधानमन्त्री ओली पूर्णरुपमा स्वस्थ : अस्पताल


0
Shares

काठमाडौं, कात्तिक १४ । स्वास्थ्यमा समस्या आएपछि बुधबार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ ।

बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै अस्पतालले बुधबार र बिहीबार गरी प्रधानमन्त्री ओलीको दुईपटक ‘हेमोडायलासिस’ गरिएको र अहिले प्रधानमन्त्री ओली पूर्णरुपमा स्वस्थ रहेको दाबी गरेको हो ।

अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले रगतमा ‘क्रियाटिन’को मात्रा बढेको र उक्त मात्रालाई कम गराइएको बताए ।

तर, क्रियाटिनको मात्रा कति पुगेको थियो र अहिले कति मात्रामा रहेको छ भन्नेचाहिँ डा पाण्डेले बताउन अस्वीकार गरे ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहलाईसमेत सहभागी नगराइएको पत्रकार सम्मेलनमा ग्रान्डीका निर्देशकसमेत रहेका डा. पाण्डेले आफू नै अस्पतालको आधिकारिक व्यक्ति भएकाले आफूले मात्रै बोल्ने बताए ।

बुधबार राति प्रेस विज्ञप्ति जारी गर्दै ग्रान्डी अस्पतालले प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि अस्पतालमा रहेको दाबी गरेको थियो ।

ग्रान्डी अस्पतालले प्रधानमन्त्री ओली बिहीबारै रातिसम्ममा ‘डिस्चार्ज’ हुने जनाएको छ ।