२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


आईएसआई प्रमुख बग्दादी मारिएको आशंका


0
Shares

एजेन्सी, काठमाडौं, कात्तिक १० । अमोरिकी सेनाले इस्लामिक स्टेट (आईएसआई) का प्रमुख अबु बकर अल बग्दादीलाई मारेको आशंका गरिएको छ ।

अमेरिकी कमान्डोहरूले उत्तरी सिरियामा आईएसआईका प्रमुख अबु बकर अल बग्दादीलाई मारेको आंशका गरिएको हो । अमेरिकी सैन्य श्रोतलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले पछिल्लो २४ घन्टामा बग्दादी मारिएको हुन सक्ने भन्दै समाचार दिएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले आइतबार अमेरिकी राष्ट्रपतिले महत्वपूर्ण जानकारी गराउने मात्र बताएका छन् । अरु समयमा सूचना चुहाउन निकै सक्रिय रहने राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वयं पनि शनिबार रातिको आफ्नो ट्वीटमा, ‘एउटा ठूलो घटना भर्खरै भएको छ ।’ मात्र भनेका छन् ।

राष्ट्रपति ट्रम्पको ट्वीट उत्तरी सिरियामा गरिएको विशेष सैन्य अपरेशनमा बग्दादी मारिएको हुनसक्नेतर्फ लक्षित रहेको आशंका गरिएको हो ।

गत वर्ष रसियाली सेनाले आफ्नो आक्रमणमा बग्दादी मारिएको दाबी गरेपनि पछि बग्दादी स्वयं एक भिडिओमार्फत सार्वजनिक भएका थिए ।

अमेरिकाले सन् २०११ मा बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्ने गरी सूचना दिनेलाई दश करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा समेत गरेको थियो ।

सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइएसआईले लामो समयदेखि आतकंवादी गतिविधि चलाउँदै आएको छ ।
६ महिनाअघि श्रीलंकाका विभिन्न ठाउँमा २५९ जना मारिने गरी गराइएको घटनाको पनि जिम्मेवारी आईएसआईले नै लिएको थियो ।

सन् २०१० मा इराकमा अलकाइदा नेताका रूपमा देखिएका उनले नै पछि अरु आतकंवादी समूहलाई पनि मिलाएर इस्लामिक स्टेटको गठन गरेका थिए ।