
पाँचथर, असोज २१ । ‘सुँगुरको मासु खाँदा’ जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् ।
आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो ।
उपचारकाक्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको सोमबार मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।
बिरामी परेका अर्का एकजना जिल्लाको फिदिम नगरपालिका–१०, याङनामका अन्दाजी ३३/३४ वर्षका जयप्रकाश जवेगुको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ लाँदै गर्दा बाटोमै ज्यान गएको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । उनको सोमबार राति १२ बजेको समयमा ज्यान गएको न्यौपानेले जानकारी दिए ।
यस्तै, मासु खाएर कुम्मायक गाउँपालिकाका अन्दाजी २९/३० वर्षका दिनेश खजुम र जिल्लाको साविक सिदिन गाविसका सुन्दर राई पनि बिरामी परेका छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
उनीहरुको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दसैंको अवसरमा उनीहरुले आइतबार कारागारभित्रै सुँगुर ल्याएर काटेको र मासु खाएको प्रहरीको भनाइ छ ।
सुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । घटनाकोबारेमा अनुसन्धान भइरहेको न्यौपानेले जनाकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्