Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


खोटाङमा बायोग्याँस प्लान्ट उद्योग सञ्चालन


0
Shares

दिवस रिजाल

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनाका रुपमा लिएको उद्योग २०७५ सालबाट स्थापनाको शुरुवात गरेका थिए । अर्थमन्त्रालयको विशेष अनुदान बापतको तीन करोड ३२ लाख रुपैयाँको लागतमा सोल्मास्थित अजम्बरी टोलमा कम्पोष्ट मल उद्योग, बायोग्याँस प्लान्ट र कृषि स्रोत केन्द्र स्थापना गरिएको हो । नगरकार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले निःशुल्क उपलब्ध गराउनु भएको दुई रोपनी जग्गामा उद्योग स्थापना गरिएको छ । उद्योगबाट उत्पादित कम्पोष्ट मल मलिलो हुने कृषिशाखा संयोजक धर्मेन्द्र कोलोनीको भनाइ छ ।

कम्पोष्ट मल उद्योगसँगै बनाइएको बायोग्याँस प्लान्टमा मानव मलमुत्र तथा गाईभैँसीको गोबर हालेर ग्याँस उत्पादन गर्ने तयारी गरिएको छ । करिब तीन हजार ५ सय घनमिटर क्षमताको अण्डरग्राउण्ड ट्याङ्कीमा कच्चा पदार्थ हालेर गोबरग्याँस उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रुपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्न मिल्ने नगरप्रमुख दिपनारायण रिजालको भनाइ छ।

दिक्तेल बजारका शौचालयको ट्याङ्कीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी छ । आवश्यक गोबर र स्याउलाका लागि कम्पोष्ट मल उद्योग र बायोग्याँस प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसी पालन गरिएको छ । आफ्नै नगरपालिकामा प्राङ्गारिक मल उत्पादन भएको देख्दा स्थानीय खुशी भएका छन् । मल उद्योग उद्घाटन गर्ने क्रममा शनिवार प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र प्रदेशको गौरवको आयोजना भएको साथै प्लान्टमा उत्पादन भएको कम्पोष्ट मल जिल्लाभरी पु¥याइ सिङगो प्रदेशलाई नै अर्गानिक प्रदेश बनाउने घोषणा गर्नुभएको छ । खोटाङ जिल्लाको सबैभन्दा ठूलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पाँच वर्षभित्र पूर्ण प्राङ्गारिक क्षेत्र बनाउने तयारी भइरहेको छ।