Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरु हुन्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताउनुभएको छ ।

विश्व मिर्गौला दिवसका अवसरमा बुधबार आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिट्टै त्यस्ता सेवा स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा. डा. दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहेको जानकारी दिनुभयो ।

उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने सरकारको ध्येय रहेको जनाउँदै उहाँले मिर्गौला रोग जसलाई पनि हुन सक्ने भएकाले सबै सजग हुनुपर्ने बताउनुभयो ।

पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको उहाँले बताउनुभयो ।

मिर्गौला रोगजस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई अझ थप व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओली सम्बोधनपछिको प्रभातफेरीमा पनि सहभागी भएका थिए ।

वसन्तपुरबाट सुरु भएको प्रभातफेरी रत्नपार्क, असन, इन्द्रचोक हुँदै वसन्तपुरमा पुगेको थियो ।

कार्यक्रममा वरिष्ठ मिर्गौला रोगविशेषज्ञ डा ऋषिकुमार काफ्ले वर्षेनी नेपालमा तीन हजार व्यक्तिको मिर्गौला बिग्रने गरेको जानकारी दिनुभयो ।

अस्वस्थकर जीवनशैली, पानीको कमी, मानसिक तनाव, मिर्गौलाको नियमित स्वास्थ्य जाँच नराउनुजस्ता कारणले मिर्गौला रोग लाग्ने चिकित्सकहरुको भनाइ छ ।