१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


इन्द्रजात्रा पर्व आज मनाइँदै, पर्व हेर्न विदेशी पनि आए


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् ।

यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । रथ तान्नु अघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा छ ।

यस अवसरमा लाखे नाच, पुलुकिसी नाच पनि प्रदर्शन गरिन्छ । यसपछि सर्वसाधारणको दर्शनका लागि विभिन्न टोलमा रथ घुमाउने चलन छ ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेको धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ ।

यसअघि, तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जंगलबाट लिंगो काटेर ल्याउने गरिन्छ ।

लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।

इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्र जात्रालाई लिइन्छ । लिच्छवी कालदेखि यो पर्व मनाउन थालिएको हो ।

इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना काठमाडौं आएका छन् ।

भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए ।