Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टि–शर्ट लगाएका अधिकारकर्मी ६ घण्टा प्रहरी नियन्त्रणमा


0
Shares

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका लागि न्याय माग्दै प्रदर्शनमा उत्रिएका ६ जना अधिकारकर्मीलाई कञ्चनपुर प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वेदकोट नगरपालिका दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न जाने क्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टि–शर्ट लगाएका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनमा उत्रिएका अधिकारर्मीहरू शारदा चन्द, मीना भण्डारी, लक्ष्मी मल्ल, निर्मला जोशी, आनन्दी राना र खड्क विष्टलाई इलाका प्रहरी कार्यालय झलारीले मध्यान्ह १२ बजे पक्राउ गरेर साँझ ६ बजे रिहा गरिएको हो

प्रधानमन्त्री ओली औद्योगिक क्षेत्रको शिलान्यास गर्न आउने थाहा पाएपछि दैजी बजारमा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टि–शर्ट लगाएर उभिएका बेला प्रहरीले उनीहरूमाथि प्रहरीले धरपकड गरेको थियो ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पुग्दासमेत हत्यारा पत्ता लाग्न नसकेको अवस्थामा न्यायका लागि टि–शर्ट लगाएर आफूहरूले गलत क्रियाकलाप नगरेको अधिकारकर्मीहरूको भनाइ छ ।