
काठमाडौं, भदौ १५ । ‘पठन संस्कृतिको पूर्वाधार : पुस्तकालयको विकास र विस्तार’ भन्ने मूल नाराका साथ १२ औं पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाईदैंछ ।
यसै अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पठन संस्कृतिको विकासका लागि पुस्तकालय दिवसको विशिष्ट महत्व रहेको बताए ।
उनले राष्ट्रिय पुस्तकालय नीति निर्माण गर्न सरोकारवालाहरुसँग छलफल भइरहेको र आगामी केही दिनभित्रै मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको जानकारी गराए ।
मन्त्री पोखरेलले देशको विभिन्न भागहरुमा सूचना प्रविधिसहित आधुनिक पुस्तकालयको निर्माण गर्ने लक्ष्य रहेको बताए । ‘एक विद्यालय एक पुस्तकालय’ भन्ने नीति अनुसार करिब एक लाख विद्यालयमा पुस्तकालय राख्न बजेट छुट्याइसकिएको उनको भनाइ थियो ।
मन्त्री पोखरेलले भूकम्पका कारण क्षति पुगेको राष्ट्रिय पुस्तकालयको पुनर्निर्माणका लागि सरकारले जग्गा उपलव्ध गराइसकेको र छिट्टै आवश्यक संरचना निर्माण हुने बताए ।
कार्यक्रमका सहभागीहरुले अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्न सरकारको ध्यानाकर्षण गरेका थिए । सामुदायिक विद्यालयहरुमा ई–पुस्तकालयको निर्माण गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा पुस्तकालयको विकासमा उल्लेखनीय योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम अघि विभिन्न चेतनामुलक व्यानर र प्लेकार्डसहित प्रभातफेरी आयोजना गरिएको थियो । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी रसियन कल्चर सेन्टर कमलपोखरी पुगेर सभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्