३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


श्रीलंकामा चार महिना लामो संकटकाल अन्त्य


0
Shares

कोलम्बो, भदौ ६ । श्रीलंकामा चार महिनादेखि जारी रहेको संकटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ ।

इस्लामिक अतिवादी समूहले विभिन्न होटल र चर्चहरुमा गरेको भीषण आक्रमणपछि यहाँको सरकारले संकटकालको घोषणा गरेको थियो ।

त्यस आक्रमणमा परी २५८ जनाको मृत्यु भएको थियो ।

सो आतंककारी हमलापछि श्रीलंकाको राजधानी कोलम्बोमा असुरक्षाको अवस्था महसुस भएको थियो ।

गत अप्रिल २१ मा श्रीलंकाका तीनओटा होटल र तीनओटा चर्चमा भएको भीषण आक्रमणपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संकटकाल घोषणा गरेका थिए ।

राष्ट्रपति सिरिसेनाको कार्यालयले बिहीबारबाट यहाँ संकटकालीन अवस्था हटाइएको जानकारी गराएको हो ।

उक्त संकटकालीन अवस्थाको समय बिहीबार सकिएको भएपनि राष्ट्रपति सिरिसेनाले समयावधि नबढाएको उक्त कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

श्रीलंकाका पर्यटनमन्त्रीले गत हप्तामात्र पनि यहाँ संकटकालीन अवस्था लम्ब्याउन आवश्यक नरहेको विषयमा आफ्नो सार्वजनिक धारणा राखेका थिए ।

श्रीलंकामा संकटकालीन अवस्था कायम रहँदा पर्यटन व्यवसाय पनि संकटमा परिरहेको भन्दै राज्य व्यवस्थालाई सामान्य अवस्थामा फर्काउन पर्यटनमन्त्री तथा पर्यटन व्यवसायीहरुले आग्रह गर्दै आएका थिए ।

उक्त आतंककारी आक्रमणमा सहभागीहरुलाई पक्राउ गर्नका लागि कोलम्बो प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

तर, ती आक्रमणमा संलग्नहरु मारिएका या पक्राउ परिसकेका प्रहरीले जनाएको छ ।

आक्रमणको जिम्मा लिने जिहादीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । रासस/एएफपी