
नयाँ दिल्ली, भदौ ५ । भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री पी चिदम्बरम पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले बुधबार साँझ भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरेको हो । सीबीआईले ७३ वर्षीय चिदम्बरममाथि संयुक्त प्रगतिशिल गठबन्धन (युपिए) को सरकारमा अर्थमन्त्री भएका बेला आइएनएस मिडिया कम्पनीमा सन् २००८ मा गरिएको अवैधानिक रुपमा वैदेशिक लगानी भित्र्याउन सघाएको आरोप लगाएको छ ।
सीबीआईले उनलाई दिल्लीको जोरबागस्थित निवासबाट पक्राउ गरेको हो ।
पक्राउ गर्नका लागि चिदम्बरमको घर पुगेका सीबीआईका अधिकारीहरुले निकै कसरत गर्नु परेको थियो । निवासको मूलढोका नखोलिएपछि उनीहरु पछाडिको ढोकाबाट प्रवेश गरेका थिए । सीबीआईका केही अधिकारीहरु त पर्खाल नाघेरसमेत भित्र पसेका थिए ।
त्यसअघि चिदम्बरमले आफूमाथि सीबीआईले लगाएको आरोप निराधार भएको भन्दै आरोपलाई खारेज गर्न र पक्राउ नगर्न माग गर्दै दिल्ली उच्च अदालत गएका थिए । तर, मंगबालर उच्च अदालतले उनको माग अस्वीकार गरेको थियो ।
त्यसपछि सीबीआई र प्रवर्तक निर्देशनालयको टोलीले चिदम्बरमलाई पक्राउ गर्न खोजी शुरु गरेको थियो । त्यसका लागि मंगलबार दुई पटकसम्म उक्त टोली उनको निवास पुगेको थियो । तर, उनलाई फेला पार्न सकेको थिएन ।
चिदम्बरम बुधबार साँझ कंग्रेस पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक भएका थिए । उक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिदम्बरमले आइएनएक्स मिडिया प्रकरणमा प्रत्यक्ष आरोप नलगाइएको हुँदा मंगलबार राति र बुधबार दिनभर वकिलहरुसँगको परामर्शको व्यस्त रहेको र न्यायिक प्रक्रियाको अपहेलना गर्न नखोजेको प्रष्टिकरण दिएका थिए ।
पत्रकार सम्मेलनपछि उनी आफ्नो निवास पुगेका थिए । चिदम्बरम आफ्नो निवास पुगेलगत्तै सिबिआईको टोलीले चिदम्बरमलाई पक्राउ गरेको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्