२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रहरी नै मिर्गौला तस्करको नाइके ! (भिडियो)


0
Shares

-दिपक श्रेष्ठ र उत्तम मानन्धर(ईमेज)

काठमाडौं । नेपालमा मिर्गौला बेचबिखनको समस्या विकराल बन्दै गएको छ ।

यसमा संलग्न गिरोहलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही नगरेको पनि होइन यद्यपी नियन्त्रण हुन सकेको छैन ।

मिर्गौला बेचबिखनमा संलग्न व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रहरी नै मिर्गौला बेचबिखनमा संलग्न भएको एउटा घटना उजागर भएको छ ।

नेपाल प्रहरीको बहालवाल प्रहरी नायव निरीक्षक योगेन्द्रराज थपलिया मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका छन् ।

थपलियाले प्रहरीकै पूर्वहवल्दार समेतकोे मिलेमतोमा बिगत केही बर्षदेखि मिर्गौला तस्करी गर्दै आएको खुलासा भएको छ ।

उनलाई हाल महानगरीय प्रहरी बृत महाराजगञ्जको टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

पकेटमार होस वा चोरी–डकैती जुनसुकै काण्डमा पक्राउ परेका ब्यक्तिलाई तत्काल पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले यो घटना भने गुपचुप राखेको छ ।

महाराजगञ्ज बृतका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले घटनाको अनुसन्धान भइरहेकाले केही बताउन नमिल्ने जानकारी दिए ।

थपलियाले विभिन्न ब्यक्तिलाई ललाई–फकाई भारतमा लगि मिर्गौला बेच्ने गरेको उजुरीको आधारमा प्रहरीको फन्दामा परेका छन् ।

चार जना संलग्न उक्त समूहले काभे्र जिल्ला घर भइ हाल चाबहिल बस्ने मनमैजुस्थित एक खाजा घरमा काम गर्दै आएका बिष्ण् खड्कालाई मिर्गौला बेचेबापत मोटो रकम हात पर्ने भन्दै भारत पुर्‍याएर उनको मिर्गौला बेचेको पाइएको हो ।

खड्काले सो समूहले आफुलाई वीर अस्पताल नजिकै रहेको अनमोल  क्लिनिक एण्ड डाइग्नोसिस्ट सेन्टरमा लगि बेहोस बनाइ भारत पुर्‍याएको बताए ।

यता बिष्णु हराएपछि उनका परिवारले थपलियाले नै आफनो भाइलाई बेपत्ता पारेको भन्दै उजुरी दिएपछि प्रहरीले थपलिया र पूर्वप्रहरी हवल्दार थनितसिंह गुरुङ, रमेश कार्की, नारायण पराजुलीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मानव ओसार–पसार तथा बेचविखन मुद्दामा अनुसन्धान अघि बढाएको प्रहरी श्रोतले बताएको छ  ।

सामान्य घटनाका आरोपीलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने प्रहरीले मानव अङ्ग तस्करी जस्तो जघन्य अपराधमा संलग्नलाई सार्वजनिक गर्न हिचकिचाएको देखिन्छ । यसले तस्करीमा पहुँचवालकै पनि संलग्नता छ कि भन्ने प्रश्न जगाएको छ ।