Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


सर्लाहीमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, एक जना मारिए


0
Shares

काठमाडौं, असार ५ । सर्लाहीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा चन्द समूहका एक जनाको मृत्यु भएको छ ।

सर्लाहीको लखनदेही खोला किनारमा गस्तीमा रहेको प्रहरी र मोटरसाइकलमा रहेका समूहबीच विहीवार दिउँसो गोली हानाहान भएको हो ।

प्रहरीले चेकजाँज गर्ने क्रममा भएको झडपमा प्रहरीको गोली लागेर विप्लव समूहको सर्लाही इञ्चार्ज कुमार पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

पौडेलको साथबाट एक थान पेस्तोल र कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

मृतक पौडेल सर्लाहीको बाग्मती नगरपालिका वडा नम्बर २ धरहराका बासिन्दा भएको थाहा भएको पनि प्रहरीले जनाएको छ । अरु दुई कार्यकर्ता भने भागेको प्रहरीले जनाएको छ ।

यता, काठमाडौंबाट विप्लव समूहका ५ कार्यकर्ता पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार विप्लव समूहको रामेछाप जिल्ला ईञ्चार्ज कुलदीप तामाङ, दोलखा जिल्ला इञ्चार्ज यादव दाहाल, दोलखाका जिल्ला सेक्रेटरी विशाल जिरेल, सो समूहको विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुरको विद्यार्थी संगठनका अध्यक्ष विशाल तामाङ पक्राउ परेका हुन् ।

उनीहरुलाई काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरेको पनि प्रहरीले जनाएको छ ।